कृषिमा भविष्य खोज्दै २८ वर्षे युवा

बझाङ । बझाङ जिल्लाको तलकोट गाँउपालिका– १ का कमलराज बुढाको खाली समय प्रायः जसो सदुपयोगका लागि दैनिकी बारीमा नै बित्ने गरेको छ ।

उमेरले करीव २८ वर्ष लागेका कमलराज सधैँभरी हातमा कुटो कोदालो बोकेर आफ्नो नर्सरीमा रहेका स–साना बोट बिरुवाहरुको हेरचाहा तरकारीको गोडमेल र कुखुराको चारो दिने काममा नै बित्ने गरेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकाका कारण पढ्ने लेख्ने कलिलो उमेरमा साथीहरुको लहलहैमा घरको नुनतेल लत्ता कपडाको जोहो गर्न रोजगारीका लागि भारत गएको बेला आफूले काम गर्ने साहुको घरमा स्याउको नर्सरीबाट घरमै बसीबसी वार्षिक १४–१५ लाख कमाएको र व्यवसायबाट एक छोरालाई डाक्टर र एक छोरालाई निजी स्कुलको हेडमास्टर बनाएको देखपछि आफूले पनि तरकारी खेती र कृषि व्यवसाय गरी आफ्नै गाँउठाँउमा भविष्य बनाई गाउँमै रोजगारी बन्न सकिन्छ भन्ने उनमा सोच आयो ।

साहुको घरको नोकरी छाडेर गाँउ फर्केपछि यस पेशेमा लागेर यसै सम्बन्धी ज्ञान सिप लिन आवष्यक ठानेर सत्यवादी माध्यामिक विद्यालयमा कृर्षि जेटियो भर्ना भई पढाई सकिएको कमलले बताए । ‘कृषि विषयमा धेरै अध्ययन गर्ने सोच भए पनि आर्थिक अभावका कारण यसभन्दा धेरै पढ्ने सकिएन’, उनले भने ।

कमलराज थप्छन्, ‘जोस जाँगर र मेहनत भएपछि स्वदेशमै केही राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ यो व्यवसाएमा लागेँ, यो व्यवसाएमा लागेको दुई वर्ष जती भयो, अहिलेसम्म यो व्यवसायबाट ८०–९० हजारभन्दा बढी फलफूलका बोट बिरुवाहरु उत्पादन गरी बिक्री गरिसकेको छु, सरकारी पेशाभन्दा यो पेशामा मैले राम्रो भविष्य देखेको छु ।’

यो व्यवसाय गर्न जमिन भाडामा लिएर तरकारी खेती र विभिन्न बेमौसमी र मौसमीका बोट बिरुवाहरु उत्पादन गर्दै आइरहेको कमलले सुनाए । यो वर्ष पनि आफ्नो नर्सरीमा स्याउ नासपती, कागती, अनार लगायतका विभिन्न बिरुवा गरी भण्डै ७० हजारभन्दा बोट बिरुवा रहेको उनको भनाइ छ ।

अली–अली पढाईको अनुभवका आधारमा नर्सरीको बेर्ना गोडमेल औषधि उपचार टनेलहरुको व्यवस्थापन आफैले गर्ने गरेको कमलले बताए । उनले सरकारी अनुदान अहिलेसम्म नलिएर व्यक्तिगत लगानीमा सञ्चालन गरेको सुनाए ।

अहिले उनले सञ्चालन गरेको अमनी कृषि तथा वन नर्सरी फार्म दर्ता गरी उदाहरणीय बनेपछि सदरमुकाम चैनपुर आसपासका ठाँउबाट मानिसहरु अवलोकनका लागि आउने गरेका छन् ।

स्थानीय स्तरमा उत्पादन भएको फलफूलका बोटहरुको मूल्य सरकारले तोके अनुसार लिनुपर्ने र जिल्लामा रहेका सरकारी कार्यालयहरु, डिभिजन वन कार्यालय कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादन भएका बोट बिरुवाहरुलाई सहुलियत लिनुपर्ने कमलको भनाइ छ ।

प्रतिक्रिया