लक्ष्य अनुसार राजस्व संकलन भएन

बैतडी । बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटले २३ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक बर्ष २०७८/०७९ मा महाकाली भन्सार कार्यालय झुलाघाटले २३ लाख ६६ हजार ८९७ रुपैयाँ राजस्व संकलन गरेको हो ।

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मृल्य अभिवृद्धि कर र अन्त शुल्कबाट गरी उक्त रकम राजस्व संकलन गरिएको महाकाली भन्सार कार्यालय झुलाघाटका नायव सुब्बा प्रेमप्रसाद काफ्लेले बताए ।

भन्सार महसुल १६ लाख ३ हजार ८७३, मुल्य अभिवृद्धि कर ६ लाख ६३ हजार ४६८ रुपैयाँ, भन्सार सेवा दस्तुर ८७ हजार ५ रुपैयाँ र अन्त शूल्क बाफत १२ हजार ५६ रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए । ४३ लाख ६१ हजार राजस्व संकलनको लक्ष्य राखेको महाकाली भन्सार कार्यालय झुलाघाटले लक्ष्यको ५४ दशमलब २७ प्रतिशत मात्रै संकलन गरेको छ ।

मोटरेवल पुल नहुँदा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिएको नायब सुब्बा काफ्लेले बताए । यहाँका स्थानियहरु मजदुरी गर्न भारत जाने भएकाले उनीहरुले फर्किदा घरयासी सामान ल्याउने हुँदा त्यसमा भन्सार शुल्क तिर्न नमान्ने गरेकाले पनि राजस्व संकलनमा कमि आएको उनले सुनाए ।

‘लक्ष्य अनुसारको राजस्व संकलन नहुनुको प्रमुख कारण मोटरेवल पुल नहुनु नै हो,’ उनले भने, ‘व्यापारीहरुले बाटो नहुँदा धनगढी र महेन्द्रनगरबाट सामान ल्याउने गरेका कारण लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन् ।’ महाकाली भन्सार कार्याले आर्थिक बर्ष २०७९/०८० मा ३८ लाख ८६ हजार राजस्व संकलनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया