बिपी र पुष्पलाललाई सम्झँदा

नेपाली राजनीतिको अग्रगामी कित्तामा साउनको दोस्रो साता विशेष स्मरणीय छ । नेपालका दूरदर्शी राजनेताद्वय बिपी कोइरालाको स्मृति दिवस साउन ६ गते पर्छ, पुष्पलालको स्मृति दिवस साउन ७ गते पर्छ । ०३९ साल साउन ६ गते बिपी कोइरालाको निधन भएको हो । ०३५ साल साउन ७ गते पुष्पलालको निधन भएको हो । यी दुई जना दूरदर्शी नेताको स्मृति दिवस सँगसँगै मनाउने अवसर प्राप्त हुनु नेपाली राजनीतिको सुखद् संयोग हो । लोकतान्त्रिक कित्ताको नेपाली राजनीति अहिलेसम्म बिपी र पुष्पलालको विचार दर्शन वरिपरि नै घुमिरहेको छ । सुदूरभविष्यसम्म पनि नेपाली राजनीति यसरी नै अघि बढ्नेछ । त्यसैले बिपी र पुष्पलाललाई दूरदर्शी राजनेता भन्ने गरिएको हो । बिपी र पुष्पलाल एउटै पृष्ठभूमि तथा धरातलबाट उदय भएका नेताहरू हुन् ।

समाज सुधारक आफ्ना पिता कृष्णप्रसाद कोइरालाले राणाहरूको जेलमै आमरण अनशन गरी देश त्याग गरेपछि बिपी कोइराला राजनीतिमा विशेष सक्रीय भएको देखिन्छ भने प्रजातन्त्र स्थापनाका लागि संघर्षरत आफ्ना दाजु गंगालाललाई सरकारले मृत्युदण्ड दिएपछि पुष्पलाल पनि राजनीतिमा विशेष सक्रीय भएको देखिन्छ । सुरुआती चरणमा बिपी र पुष्पलाल एउटै पार्टी राष्ट्रिय कांग्रेसमा आवद्ध थिए । राणाहरूको षड्यन्त्रका कारण राष्ट्रिय कांग्रेस विभाजित भएपछि २००६ सालमा बिपी कोइरालाको अगुवाईमा नेपाली कांग्रेस पार्टी स्थापना भयो भने पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । आजसम्म पनि नेपालको राजनीति यिनै दुई पार्टीहरूको वरिपरि घुमिरहेको छ । यद्यपि नेपाल कम्युनिस्ट पार्टी अहिले पनि दर्जनौँ चिरामा विभाजित भई तरल अवस्थामा छ भने नेपाली कांग्रेस पनि स्वार्थी नेताहरूको घेरामा बन्धक भएको महसुस गरिएको छ ।

बिपी र पुष्पलालले आफ्नो पूरा जीवन अत्यन्त कष्टकर संघर्षमा बिताए । पुष्पलालका अन्तिम दिनहरू त पेटभरी खानसमेत नपाउने गरी दुभाग्यपूर्ण अवस्थामा गुज्रिएको निकटस्थ सहयोगीहरू बताउँछन् । जीवित छइन्जेल बिपी र पुष्पलाल एकै ठाउँमा उभिने परिस्थिति निर्माण हुन सकेन । कांग्रेस र कम्युनिस्ट पार्टीलाई एकआपसमा भिडाएर प्रतिगामी शक्तिहरूले शासन सत्तामा मोजमस्ती गरिरहे, बिपी र पुष्पलाल टुलुटुलु हेर्ने वाध्य भए । जबकी कांग्रेस र कम्युनिस्ट एकै ठाउ“मा नउभिएसम्म प्रतिगामी शक्तिको ब्रह्मलुट जारी रहन्छ, जनता रैतीको रैती नै रहन्छन् भन्ने कुरामा बिपी र पुष्पलाल स्पष्ट थिए । तैपनि एकै ठाउँमा उभिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले दिएन । कांग्रेस र कम्युनिस्टबीच सहकार्य गरेर पञ्चायत ढाल्नुपर्ने कुरामा पुष्पलाल स्पष्ट थिए, तर कम्युनिस्ट आन्दोलन तथा पार्टी संगठन पुष्पलालको पकडबाट फुत्किसकेको थियो ।

कम्युनिस्टको ब्यानरमा थुप्रै पार्टीहरू खुलेका थिए ? कतिपय कम्युनिस्ट घटकहरू राजालाई भन्दा कांग्रेसलाई मुुख्य दुस्मन ठान्थे । जसका कारण बिपी कोइराला सशंकित भए । पहिलो कुरा त कम्युनिस्ट शासन व्यावस्था निर्यात गर्ने अभियान चलाएको सोभियत संघ दक्षिण एसियामै आइसकेको थियो भने अर्कोतिर कतिपय कम्युनिस्ट घटकहरू पञ्चायतको रक्षा कवचका लागि खडा गरिएका थिए । त्यसैले आफ्नो बिपी र पुष्पलाल सफल हुन सकेनन् ।

०४६ सालको परिवर्तन बिपीले परिकल्पना गरेको विचार हो भने पुष्पलालले परिकल्पना गरेको रणनीति हो । सोभियत संघको विघटनसँगै कम्युनिस्ट शासन व्यवस्था निर्यात हुने संभावना समाप्त भयो । पञ्चायत ढाल्नका लागि नेपाली कांग्रेसले ढुक्कसँग कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्ने परिस्थिति सिर्जना भयो । परम्परागत कम्युनिस्ट शासन पद्धति अप्रसांगिक रहेको टुंगोमा पुगेका कम्युनिस्ट पार्टीहरूले पञ्चायत फाल्नका लागि कांग्रेससँग सहकार्य गर्ने वातावरण बन्यो ।

पुष्पलालको एउटा सपना मदन भण्डारीले पूरा गरे । तर शासन व्यवस्था साध्य नभएर साधन हो भन्ने यथार्थता पछिल्ला दिनमा बिपी र पुष्पलालका अनुयायी भन्नेहरूले भुल्दै गए । नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीलाई बिपी र पुष्पलालले केवल सत्ता प्राप्तिका लागि गठित समूहका रूपमा अघि बढाएका थिएनन् । सामाजिक परिवर्तन र आर्थिक समृद्धिको साधनका रूपमा अघि बढाएका हुन् । तर ०४६ सालको परिवर्तनपछि जति समय बित्दै गयो, त्यति नै कांग्रेस र कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू सामाजिक परिवर्तन र आर्थिक समृद्धिको लक्ष्यभन्दा धेरै पर पुगे । पञ्चायत ढलेको यो ३२ वर्ष मुलुकमा कांग्रेस र कम्युनिस्ट पार्टीहरूले नै शासन चलाएका छन् । यो निकै लामो कालखण्ड हो । तर जनताका दुःख दर्द हटेका छैनन्, शासन सत्तामा रहनेहरूको जीवनशैली हिजोका राणा तथा राजाको जस्तै बन्न थालेको छ । यतिबेला बिपी र पुष्पलाल जीवित भएको भए अनर्थ देख्ने रहेछन् ।

प्रतिक्रिया