प्रचण्डको भारत भ्रमण र उत्पन्न तरंग

सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका विषयलाई लिएर टीकाटिप्पणीहरू जारी छ । तीनदिने भारत भ्रमणपछि प्रचण्ड आइतबार स्वदेश फर्किएका छन् । उनी सत्तारूढ बिजेपीको निमन्त्रणमा भारत भ्रमणमा गएका हुन् । पूर्वप्रधानमन्त्री मात्रै होइन सत्तारूढ पार्टीको अध्यक्षसमेत भएका कारण प्रचण्डको भारत भ्रमण आमनेपालीका लागि चासोको विषय हुनु स्वभाविकै हो ।

औपचारिक पदमा नभए पनि यतिबेलाको शासन सत्तामा प्रचण्डको भूमिका निर्णायक छ । प्रधानमन्त्री शेरबहादुर देउवापछि नेपालको शासन सत्तामा प्रचण्डको पकड भएको थाहा पाएरै भारतले भ्रमणका लागि आमन्त्रण गरेको हो । तर, प्रचण्डको भारत भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजावादी कित्ताबाट अली धेरै नै अभद्र टिप्पणी सार्वजनिक मिडिया तथा सामाजिक संजालमा भएको देखिएको छ । देश बेच्न नै भारत गएको भनेझै गरी टीकाटिप्पणीहरू पनि कतिपयले गरे ।

कतिपयले हालै सम्पन्न चिनियाँ उच्च नेतृत्वको नेपाल भ्रमणका गतिविधिबारे ब्रिफिङ गर्न भारतले प्रचण्डलाई बोलाएको टिप्पणी पनि गरे । प्रचण्डको यो भारत भ्रमण बेमौसमको भएको टिप्पणी गर्नेहरू पनि प्रकट भए । नेपालकोे कोही नेता भारत भ्रमणमा जानासाथ यस्ता टिप्पणीहरू किन हुन्छन् ? भन्ने प्रश्नको उत्तर गारो छैन । किनकी नेपालको धेरैजसो क्षेत्रमा भारतीय प्रभाव छ, यो प्रभावलाई अझ विस्तार गर्न भारत चाहान्छ । आफ्नो प्रभाव विस्तार हरेक देशको स्वार्थ हो । भारतले यो स्वार्थ राख्छ भन्दैमा भारत भ्रमणमै नजानु, भारत भ्रमणलाई लिएर नकारात्मक मात्रै टिप्पणी गर्नु नेपालका लागि प्रत्युत्पादक हुन्छ । नेपालको स्वार्थ पनि भारतसँग जोडिएको छ ।

यतिबेलाको प्रचण्डको भारत भ्रमण बेमौसमको बाजा हुँदै होइन । नेपालले बेहोरिरहेको व्यापार घाटा, आर्थिक संकट, मूल्यवृद्धि लगायतका केही मामिलाहरू भारतसँग जोडिएका छन् । उच्चस्तरीय भेटवार्ताबाट मात्रै छिटो सुल्झिन सक्ने समस्याहरू हुन् यी । तर प्रधानमन्त्री देउवाको भारत भ्रमण यतिबेला संभव छैन । त्यसैले सत्तारूढ घटक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुलाई सकारात्मक रूपमा लिनुपर्छ । भ्रमण क्रममा सन् १९५० को सन्धी, दुई देशको व्यापार घाटा, सीमा सुरक्षालगायत विषयमा छलफल भएको प्रचण्डले जनाएका छन् । यतिबेला पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारण नेपालले समस्या झेलिरहेको छ । तर भारतले भने रुसबाट कच्चा तेल ल्याएर समस्याको समाधान गर्ने प्रक्रिया सुरु गरिसकेको छ । त्यो प्रक्रियामा नेपाललाई पनि सामेल गर्न आपूmले अनुरोध गरेको प्रचण्डले बताएका छन् ।

यतिबेलाको अन्तर्राष्ट्रिय धु्रवीकरणमा भारत तटस्थ देखिए पनि भित्री रूपमा रुसको पक्षमा उभिएको छ । तर, नेपाल विविध कारणबस तटस्थ बस्न सकेन । त्यसैले पनि भारतले प्रधानमन्त्री देउवालाई भन्दा प्रचण्डलाई भ्रमणका लागि रोजेको हुनसक्छ । नेपालप्रति भारतको पछिल्लो रणनीतिका सन्दर्भमा नाडी छाम्ने मामिलामा पनि प्रचण्डको यो भ्रमण महत्वपूर्ण छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुने समय तालिका तय गर्दै भारतीय सत्तारूढ पार्टी बिजेपीले प्रचण्डलाई भ्रमणका लागि आमन्त्रण गरेको थियो । तर, नेपाल फर्किने समयभन्दा एक घण्टाअगाडि मात्रै प्रधानमन्त्री मोदीसँगको भेटवार्ताको कार्यक्रम रद्द गरियो । सन् १९५० को सन्धी पुनरावलोकनको कुरा प्रचण्डले उठाउने संकेत देखेपछि भारतीय पक्षले मोदीसँगको भेटवार्ताको कार्यक्रम रद्द गरेको विश्लेषणलाई गलत भन्न सकिन्न । सन् १९५० को सन्धीले नेपालको सार्वभौम सत्तालाई केही तल पारेको छ । यो सन्धीलाई नेपालले पुनरावलोकन गर्न चाहेको छ भने भारतले निरन्तरता दिन चाहिरहेको छ । नेपाल र भारतबीचको मुख्य समस्या तथा ठूलो मुद्दा भनेको यही हो । तर, यो मुद्दाको ओझेलमा अरू सम्बन्धलाई पर्न दिनु हुँदैन ।

भारतसँगको आर्थिक तथा व्यापारिक संबन्धको पाटो पनि कम महत्वपूर्ण छैन । नेपालका लागि आर्थिक स्वार्थ पनि कम महत्वपूर्ण छैन । किनकी नेपालका लागि भारतभन्दा सर्वसुलभ बजार अर्को छँदै छैन । तर, नेताहरूको भारत भ्रमण पारदर्शी बनाउनुपर्ने आवश्यकतालाई भने नजरअन्दाज गर्न मिल्दैन । भारतीय नेताहरूसँग एक्लै भेटवार्ता गर्ने र बाहिर निस्केपछि उसो भनँे, उसो भनँे भन्दै चर्को कुरा गर्ने प्रचलनका कारण पनि अनेकथरी भ्रम छर्नेहरूले मौका पाएका हुन् ।

प्रतिक्रिया