धनगढी । कैलालीमा तीन वर्षमा ७४६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा पछिल्ला तीन वर्ष अर्थात् आव ०७६–०७७ देखि आव ०७८–०७९ सम्म सो संख्याका मानिसहरुले आत्महत्या गरेका हुन् । सो अवधिमा झुण्डिएर र बिष सेवन गरेर आत्महत्या गरेका छन् ।
झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको छ । तीन वर्षमा ६०२ जनाले झुण्डिएर र १४४ जनाले बिष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र सिं साउँदले जानकारी दिए । आव ०७६–०७७ मा २२२ जनाले आत्महत्या गरेका छन् ।
जसमा १७८ जनाले झुण्डिएर र ४४ जनाले बिष खाएर आत्महत्या गरेको प्रहरी तथ्यांक छ । आव ०७७–०७८ मा आत्महत्या गर्नेको संख्यामा अघिल्लो वर्ष भन्दा बृद्धि भएको छ । आव ०७७–०७८ मा २६५ जनाले आत्महत्या गरेका छन् ।
जसमा २०३ जनाले झुण्डिएर र ६२ जनाले बिष खाएर आत्महत्या गरेको जनाइएको छ । त्यसैगरी आव ०७८–०७९ मा २५९ जनाले आत्महत्या गरेका छन् । जसमा २२१ जनाले झुण्डिएर र ३८ जनाले बिष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ ।
आव ०७७–०७८ मा भन्दा ०७८–०७९ मा आत्महत्या गर्नेको संख्यामा थोरै कमी आएको छ । मानसिक अवस्था ठीक नहुनु, तनावलाई व्यवस्थापन गर्न नसक्नु, छोटो सोच राख्नेलगायतका कारणले आत्महत्याका घटना हुने गरेको प्रहरी निरीक्षक साउँदको भनाइ छ ।
आत्महत्या न्यूनिकरणका लागि बेला–बेलामा प्रहरीले समाजमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको र राज्यका सबै निकायले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कैलाली
प्रतिक्रिया