‘साइँली’ मा टिका, अञ्जली र दिपासाको ठुम्का (भिडियो)

काठमाडौं । तीज गीत ‘साइँली’ को म्युजिक भिडियो बजारमा आएको छ । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गरेको अवसर पारेर बिहीबार उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा मोडल टिका जैसी, अञ्जली अधिकारी र दिपासा बिसी (जल्परी) ले अभिनय एवं नृत्य गरेका छन् । उनीहरुले मौलिक पहिरनमा धमाकेदार नृत्य गरेको भिडियोमा देख्न सकिन्छ । तीनैजना मोडल म्युजिक भिडियोमा उत्कृष्ट नृत्य तथा अभिनय गर्नेमध्येमा पर्छन् ।

गीतको भाव र शैलीको आधारमा आफूहरुले नृत्य गरेको टिका जैसीले सुनाइन् । उनीहरुको साथमा अन्य कलाकारहरु काजिश श्रेष्ठ, प्रशान्त मगर र इन्दिरा जैसी पनि फिचर्ड भएका छन् । काजिश श्रेष्ठले निर्देशन गरेको उक्त भिडियो राजेश घिमिरेको छायांकन तथा दिपक विष्टले सम्पादन गरेका हुन् ।

त्यसैगरी गीतमा लोकप्रिय गायिकाहरु पूर्णकला बिसी, टिका पुन, शान्ति श्री परियार र गायक जय देवकोटाले आवाज दिएका छन् । जय देवकोटाले नै शब्द रचना र संगीत भरेको गीत तरनंग स्टुडियोमा रेकर्ड गरिएको हो ।

हिन्दु नारीहरुको महान् पर्व तीजलाई मौलिक परिवेशबाट पछि धकेल्न नहुनेमा जोड दिँदै गायिका पूर्णकलाले यस गीतमा पनि मौलिक शब्द समावेश गरेको र भिडियो पनि उत्कृष्ट बनेको बताइन् । मोडल टिका जैसीको अफिसियल युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यतिबेला धेरै अन्य कलाकारहरुले पनि धमाधम तीज गीत सर्वजनिक गरिरहेका छन् । अन्य धेरै अग्रज कलाकारहरुले पनि तीज गीत ल्याउँदा महिलाहरुको मर्यादा कायम गरेर मौलिक गीत सिर्जना गर्नुपर्ने बताउँदै आएका छन् ।

वरष्ठि गायक नारायण रायमाझीले देशमा सौन्दर्यता झल्काउन मौलिक तीज गीतले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । ‘तीज गीतले महिलाहरुको विशेष पहिचान दिलाउँछ’, उनले भने, ‘आफ्नो पर्वको मर्मलाई महिलाहरुले गम्भीर भएर गीत पस्कनुपर्छ ।’

यस्तो छ धार्मिक ग्रन्थ

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवको तपस्या गर्न थालिन् ।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिंगको स्थापना गरेर पानी पनि नपिई निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिव प्रकट भइ चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो ।

त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र तीज पर्वको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको धार्मिक ग्रन्थमा उल्लेख छ । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो ।

सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरुलाई पराई घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको महत्वपूर्ण भूमिका रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रतिक्रिया