काठमाडौँ । गायन, संगीत, संगीत संयोजनदेखि लिएर सञ्चारमाध्यम तथा कार्यक्रम सञ्चालनसम्म आफ्नो क्षमताको प्रभावशाली छाप छोड्न सफल राजेश बर्देवा सांगीतिक क्षेत्रमा एक अब्बल व्यक्तित्वका रूपमा स्थापित छन् । बर्देवा बाल्यकालदेखि नै संगीतप्रति आकर्षित थिए । उनका बुबाले रेडियोमा आउने मिठा धुनहरू र कलाकारहरूको नाम उच्चारण गर्दागर्दै घरमै अडियो क्यासेट टेपमार्फत गीतहरू सुनाउँथे, जसले बालक बर्देवाको मनमा संगीतको बिउ रोपिदियो ।
गाउँमा घाँसदाउरा, खेतबारीका काम गर्दै गर्दा पनि बर्देवालाई संगीत क्षेत्रमा लाग्ने रहन भने जीवितै छन् । मुलुकको राजधनी काठमाडौँ आएर कति बेला आफ्नौ आवाजमा गीत रेकर्ड गरौँ भन्ने लाग्थ्यो । पारिवारिक आग्रह पढाइतर्फ केन्द्रित भए तापनि उनको मन सधैँ संगीतमै थियो । परिवारले पनि मौन समर्थन जनायो । करिब एक दशकसम्म बर्देवा मोफसलका विभिन्न रेडियो स्टेसनहरूमा रेडियो प्रस्तोता रूपमा सक्रिय रहे । उनी त्यही समयदेखि कार्यक्रम सञ्चालन, अध्ययन–अध्यापन, सांगीतिक प्रस्तुति आदिमा पनि संलग्न रहे ।
विविधता र लोकप्रियतासँगैको गायन यात्रा
राजेश बर्देवा अब ३ दर्जनभन्दा बढी गीतहरूमा स्वर दिइसकेका छन् । उनले फरक–फरक शैली र विधामा आवाज दिएका छन् । जसमा लोकदोहोरी, लोकपप, पर्वगीत र समसामयिक सिर्जनाहरू समावेश छन् । लोकप्रिय गायिका समीक्षा अधिकारीसँगको ‘नाच छम्म छम्म’ गीत निकै चर्चामा रह्यो । यता, चर्चित गायिका प्रीति आलेसँग गाएको ‘उमेर सत्र भयो खत्रा’ बोलको गीतले पनि उल्लेखनीय सफलता पायो । त्यस्तै, ‘तिमी चाहिन्छ’ बोलको लोकदोहोरी गीतमा पूर्णकला बिसीसँगको युगल गायनले पनि धेरैको मन जितेको छ । उनका ‘गितार बजाइदेउ’, ‘मायाजालमा पार्यो मायाले’, ‘फल मीठो’, ‘म त सानु विरानो गाउँको हो’, र ‘डोको चोँयाको’ जस्ता गीतहरूले राजेशलाई लोकप्रिय गायकको सूचीमा उभ्याएका छन् ।
लोक र लोकपप दुवै विधामा सफल
राजेश बर्देवाले गायन यात्रामा लोकदोहोरी र लोकपप दुवै विधामा सफलता पाएका छन् । लोक र पर्व गीतहरूमा उनले आफ्ना सशक्त आवाज दिएका छन् । लोकपपतर्फ पनि ‘पहिला पहिला’, ‘अर्काकी बुढी राम्री लाग्नी’, र ‘आहा साइली’ जस्ता गीतहरूमा बर्देवाको आवाजले लोकप्रियता हासिल गरेको छ ।
बर्देवा केवल गायक मात्र होइन, संगीतकार र संगीत संयोजकको रूपमा पनि चर्चित छन् । ‘म त रुँदै बसेँ’, ‘तिमी मेरो मुटुमा छौ’ लगायतका गीतहरूमा उनले संगीत दिएका छन् । यससँगै, कार्यक्रम सञ्चालक र प्रस्तोताको रूपमा पनि उनी उत्तिकै सफल छन् । उनले रेडियो प्रस्तोताको रूपमा पनि लामो समय योगदान दिइरहेका छन् । यस्तै, काठमाडौँबाट प्रसारण हुने विभिन्न ठुला सांगीतिक अवार्ड सोहरू, विशेष समारोहहरू, सांस्कृतिक कार्यक्रमहरूमा राजेश बर्देवालाई सहज रूपमा सञ्चालकको भूमिकामा देख्न सकिन्छ ।
सगरमाथा म्युजिक अवार्ड २०८१, सेकेन्ड नेसनल इन्टरटेन्मेन्ट अवार्डलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू आफ्नो पोल्टामा पार्न सफल बर्देवा नेपालको सीमाभन्दा बाहिर पनि नेपाली गीत–संगीतको प्रतिनिधित्व गरिरहेका छन् । उनी लन्डन, हङकङ, दक्षिण कोरिया, सिंगापुर, दुबई, मलेसिया, थाईल्यान्ड लगायतका मुलुकहरूमा आयोजित विभिन्न सांगीतिक कार्यक्रममार्फत नेपाली गीत–संगीतलाई प्रवद्र्धन गर्दै आएका छन् । गायन, संगीत, संयोजन, प्रस्तुति र सञ्चार गरी ५ दवटै विधामा आफ्नो बहुआयामिक प्रतिभा देखाउँदै आएका बर्देवा आजका दिनमा नेपालका उदीयमान र बहुप्रतिभाशाली कलाकारहरूमध्ये एक हुन् ।
प्रतिक्रिया