पुनः एक्सन चलचित्रमा पूजा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा नयाँ एक्सन चलचित्रमा अनुबन्धित भएकी छन् । शर्मा गतवर्ष रिलिज भएको चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङको नयाँ चलचित्रमा देखिन लागेकी हुन् । ‘दान्भी’मा पूजा एक्सन अवतारमा देखिएकी थिइन् ।

मल्टिस्टारर कलाकार लिएर एक्सन चलचित्र बनाउने तयारी रुपेशको छ । यसका लागि कलाकारहरूलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ ।

चलचित्रमा अभिनेत्री पूजाको टुंगो लागेको छ । चलचित्रमा पूजा फाइनल भएपछि रुपेशले भने, ‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौँ । यसपटक अघिल्ला चलचित्रमा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिस गर्नेछु ।’

अभिनेत्री शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुसी व्यक्त गरिन् । ‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन चलचित्रमा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ,’उनले भनिन् ।

निर्देशक रुपेशका अनुसार, यसपटक चलचित्रमा कलाकारहरू सरप्राइज हुनेछन् । चलचित्रको नाम तय गरिएको छैन । केही दिनमै चलचित्रको नाम विकास बोर्डमा दर्ता गरेपछि सार्वजनिक गर्ने रुपेशले बताए । चलचित्रलाई सुमन गजमेरले लेखिरहेका छन् । छिट्टै चलचित्रको छायांकन गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया