चितवन । चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीका स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन् ।
पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका ५५ वर्षीय श्याम सार्कीले भने, ‘डाक्टर साहेब नआनुभएको २४ घण्टा भयो ।’ उसो त अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकसँग भेट्न पाएका छैनन् । यसो त क्याबिनका नर्ससँग ‘चिकित्सकको रोस्र्टर’समेत छैन । बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए । वृृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सक ‘कहिले आउलान्’ भनेर प्रतिक्षा गरिरहेका देखिन्थे । आक्कल झुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझावअनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए ।
महिला मेडिकल वार्डका नर्सहरूले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा.ऋतुराज तिवारीको हो । बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउन्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउन्ड’ लगाउनुभएन । उनीहरू भन्दैथिए, ‘कम्तीमा चिकित्सकले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।’ यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको यसै हुने उनीहरूको बुझाइ छ ।
शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आइतबार बिहानसम्म पाउन सकेका छैनन् । अस्पतालका २० क्याबिनसहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन् ।
चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । आफ्नो ड्युटीमा नगएका डा.तिवारीले टेलिफोनमा भने, ‘गल्ती भयो, अब म गर्दिनँ ।’ यसअघि पनि डा.तिवारी राउन्डमा नजाने गरेको नर्सहरूको गुनासो छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले राउन्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिए । उनले भने, ‘तालिकाअनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ ।’
भरतपुर अस्पताल संघीय अस्पतालभित्र पर्छ । पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकको अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आफूले सुनेलगत्तै मेडिकल सुपरिटेन्डेन्टसँग यस विषयमा कुरा भएको बताए । उनले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गरिने जानकारी दिए ।
प्रतिक्रिया