कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।
कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु १.२५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताए ।
यहाँका चार सहकारीमा संकलन भएको कूल २२ लाख १५ हजार ५३५ लिटर दूध बराबर अनुदान उपलब्ध गराइएको हो ।
जनकल्याण दुग्ध विकास सहकारी संस्थामार्फत चार लाख आठ हजार ८५५ लिटर, साना किसान कृषि सहकारी संस्थामार्फत ९ लाख ९ हजार ९७७ लिटर, शिवमन्दिर महिला बहुउद्देश्य सहकारीमार्फत एक लाख ५१ हजार ६५४ लिटर र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत सात लाख ४५ हजार ४८ लिटर दूध संकलन भएको थियो ।
सोही आधारमा प्रत्येक सहकारीलाई प्रतिलिटर रु १.२५ पैसाका दरले अनुदान उपलब्ध गराइएको हो । दूध बिक्री गर्ने किसानलाई बिक्री गरेको दूधको परिणामअनुसार सहकारीमार्फत नगरपालिकाले उपलब्ध गराएको अनुदान प्रदान गर्ने गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि दूधमा दिने अनुदान थप गरेको छ । हाल प्रदान गरिएको अनुदानमा प्रतिलिटर रु २५ पैसा थप गरी रु १.५० पैसा पुर्याउन लागिएको कावासोती नगरपालिका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए ।
नगरपालिकाको ११औँ नगरसभामा पारित गरिएको नीति तथा कार्यक्रममा अनुदान वृद्धि गर्ने उल्लेख छ । सोही आधारमा बजेटसमेत विनियोजन गरिएको भुसालले बताए ।
उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख पौडेलले बताए ।
दुग्ध उत्पादक किसानलाई थोरै भए पनि राहत होस् भनेर अनुदान प्रदान गरिएको उनले बताए । ‘किसानलाई केही राहत होस् भनेर नगरले अनुदान दिँदै आएको छ, अनुदानलाई अझ प्रभावकारी बनाउँदै, उत्पादनमा जोड दिने गरी प्रदान गरिएको छ’, उनले भने ।
प्रतिक्रिया