नवलपुर । जनविकास विद्याश्रम आधारभूत विद्यालय कावासोती(३ अठ्ठाईस बिगाहमा विद्यालय विकास सम्बन्धि वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयले थालनी गरेको विद्यालय सुधारको महाअभियान अन्तर्गत विद्यालयका सरोकारवालाहरुको बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले विद्यालय सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा सुझाव दिंदै विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरमा अभिवृद्धि गरी नमुना विद्यालय निर्माण गर्न सबैले आ आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका वडा नं( ३ का वडाध्यक्ष डोरमान गिरीले विद्यालयको चौतर्फी विकासका लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण सहयोग रहने बताउँदै विद्यालय सुधारमा सबै सरोकारवालाहरुलाई एकजुट भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर पुन, सल्लाहकार समितिका संयोजक ज्ञानेन्द्र न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष रेनुदेवी भण्डारी, सल्लाहकार समितिका सदस्य देवराज भट्टराई, भेषवहादुर अधिकारी, विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपाने लगाएतकाले सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिंदै विद्यालयको भावी योजनाहरुका बारेमा प्रकाश पारेका थिए ।
यसैबीच कार्यक्रममा सल्लाहकार समितिका संयोजक ज्ञानेन्द्र न्यौपानेले विद्यालयमा एक लाख एक हजार रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । उनले अक्षयकोष स्थापना लागि सो रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण समेत गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर पुनको अध्यक्षता एवं कावासोती नगरपालिका वडा नं ३ का वडाध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक बासुदेव पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन शिक्षक शिव पराजुलीले गरेका थिए ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया