काभ्रे । काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपामा विभिन्न जिल्लाहरूबाट मासु तथा मासुको लागि भन्दै अत्यधिक पशु चौपायाको आयात हुने गर्दै आएको छ । बनेपा नगरपालिकाले दीर्घकालीन योजना बनाएर सो ठाउँमा मासु आयात घटाउन र आत्मनिर्भर बनाउन मासु मिसन कार्यकमअन्तर्गत पाडा वितरण गरेको छ । न्यून आयस्तर भएका व्यक्तिहरू, एकल महिला, दलित, जनजाति र अल्पसंख्यक लक्षित गरी नगरपालिकाको पशुपन्छी सेवा शाखाले वितरणका लागि कार्यविधि बनाएर छनोट समिति गठन गरी पाडा वितरण गरिएको जनाएको छ ।
शाखाका शाखा प्रमुख रामसुन्दर सापकोटाले भने, ‘बनेपा नगपालिकाको वडा–२, ३, ४, ६ र १० नम्बर वडामा क्रमशः १७÷१७ र बाँकी वडामा १६ को दरमा ८२ वटा पाडा ८२ घरधुरीलाई वितरण गरिएको बताएका छन् । उनीहरूले कुल लागत २३ हजार ५ सयको २५ प्रतिशत ५ हजार ९ सय रुपियाँ तिर्नुपर्ने हुन्छ । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मासु मिसन कार्यकम राखिएको मुख्य लक्ष्य ती घरधुरीको आयस्तर सुधार र बनेपा नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने बाटोतर्फ उन्मुख गराउन यो कार्यक्रम ल्याइएको बताए ।
वितरण कार्यक्रममा वडाको जनप्रतिनिधिहरूले ती लक्षित घरधुरीको पहिचान गरेका थिए, भने वितरण गरिएको पाडा छनोटमा पशुविज्ञ डाक्टरहरूको राय र सुझाव र प्रत्यक्ष अवलोकन गरी पाडाहरू छनोट गरिएको बताए । उनले वितरण गरिएको पाडा ७५ प्रतिशत बनेपा नगरपालिका र २५ प्रतिशत छनोट भएका व्यक्तिले लागत साझेदारी गरी वितरण गरिएको बताए ।
पाडाको बिमा नगरपालिका शाखाले नै गरिदिएको र पहिलोपटक खुवाउने औषधिसमेत शाखाले दिएको छ । भने वितरण गरिएको पाडा प्राप्त गर्ने व्यक्तिले पाडालाई एक वर्षसम्म अनिवार्य पाल्नुपर्ने प्रावधान राखिएको बताए । पाडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहालले आफूले यसअघि पनि धेरै ठाउँमा यस्तो किसिमको कार्यकम गरिसकेको र त्यसबाट जसभन्दा अपजस दिने गरेको अनुभव सुनाउँदै भावी दिनमा आफूले त्यस्तो अपेक्षा नगरिएको र यो एउटा बिउ पुँजीको रूपमा लिन लक्षित वर्गलाई अपील गरिन् ।
कार्यक्रममा वडा–३ का रमेश दाहालले आफ्नो कार्यकालभरी प्रत्येक घरधुरीले वडा र नपाबाट कुनै न कुनै सुविधा पाउने नदोहोरिने नीति साथ यस्तो कार्यक्रम तय गरिएको बताए । कार्यक्रममा पशु चिकित्सक मणिप्रसाद सापकोटाले जनप्रतिनिधिले केवल निर्माणको काम मात्रै सोचिरहेको र मानिसले खाने र उत्पादनजन्य कुराहरूमा ध्यान नदिएको र अब पशुपालन र कृषितर्फ सोच्न ढिला गर्न नहुने तर्क गरेका थिए ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका डा. नितेस कार्कीले वितरण गरिएको पशु पूर्ण रूपमा स्वस्थ्य रहेको र पालन गर्न उपयुक्त रहेको बताउँदै यो कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रम ओभीओटी केन्द्रीय उपाध्यक्ष नेभ्ला केन्द्रीय सदस्य पवन केसीले सञ्चालन गरेका थिए । बनेपा नगरपालिकाले यस्तै अर्को बाख्रा पकेट विकास कार्यक्रमको लागि बनेपा नगरपालिका–१, ५, ९, ११, १२, १३ र १४ मा ४६ जना कृषकलाई पाठी वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
प्रतिक्रिया