दि हिमालयनमा शरणार्थी जीवन

काठमाडौं । लेखक नर प्रधान ‘मित्र’ द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ सार्वजनिक भएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा आयोजित कार्यक्रममा राष्ट्रियगानका सर्जक व्याकुल माइला, बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारी, साहित्यकार डा. दामोदर पुडासैनी, प्राध्यापक अनुपमा रेग्मी लगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरे । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा जितेन्द्र श्रेष्ठले साहित्यमार्फत लेखकले आफ्नोपन र परिवेशलाई उजागर गरेको धारणा व्यक्त गरे । उनले पुस्तकमा शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई कलात्मक ढंगले चित्रण गरिएको जनाए ।

कार्यक्रममा इन्ट्रा नेसनल वेयलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, साहित्यकार डा. पुडासैनी, अनुपमा रेग्मी, व्याकुल माइलाले आ–आफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पारेका थिए । उनीहरूले पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ समाज र सम्पूर्ण श्रीसम्पत्ति छोडेर अन्धकार भविष्यको पछि लाग्नुको पीडालाई स्रष्टाले कृतिमा समावेश गरेको बताए । यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करणको आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गरेका हुन् ।


पुस्तकका लखेक प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुन् । पुस्तकमा लेखक प्रधानले ‘बुबासँगको बाल्यकाल’, ‘बुबाविनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेमकथा’, ‘व्यापारको अनुभव’, ‘अरुलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रुपमा प्रस्तुत गरेका छन् ।

प्रधानले आफ्नो पुस्तक शरणार्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामग्री हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपालीपन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो । हाल अमेरिकी नागरिक भए पनि आमाको विशेष चाहना भएकाले पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी पाठकमाझ ल्याएको छु । यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु ।’ कोरोना संक्रमणको समयमा क्यारेन्टाइनको समयलाई सदुपयोग गरेर अंग्रेजी भाषामा पुस्तक तयार भएको र अमेजनमार्फत राम्रो बिक्री भइरहेको पनि उनले सुनाए ।

प्रतिक्रिया