प्रधानमन्त्रीलाई प्रश्न– आयल निगम डुबाउन अर्बौँको खेल भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल आयल निगमलाई डुबाउन अर्बौँको खेल भएको बताएका छन् । कांग्रेस अहिले सत्ताबन्धन सरकारको नेतृत्व गरिरहेको छ ।

नेता पौडेलले अर्बौँको आर्थिक चलखेर गरि सरकारले नेपाल आयल निगमको कारोवार व्यापारीलाई हस्तान्तरण गर्न लागिएको जानकारी दिएका छन् ।

६४औँ संसद् दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले ठूला व्यापारिक घरानाको मिलोमतोको आधारमा इन्धनको कारोबारको जिम्मा नीजी व्यापारीलाई दिन लागिएको दाबी गरे ।

‘अर्बौँ कमाउने दाउमा आयल निगमको कारोवार नीजि व्यापारीलाई सुम्पेर सरकारका मन्त्रीहरु राजा बन्न लागेका छन, ति मन्त्रीहरु अर्बौको चलखेल गरि राजा बन्दैछ, त्यसपछि ति मन्त्रीसहित सरकारका उच्च नेतृत्वलाई कसैले छुन आँट गर्ने छैनन्,’ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै उनले भने, ‘प्रधानमन्त्रीज्यु तपाईँ आयल निगमको कारोबार नीजि क्षेत्रको व्यापारीलाई दिन लाग्नुभएको हो ? यो खेलको पछाडी करोडौँ होइन, अर्बौँ रुपैयाँको खेल भएको तथ्य बाहिर आइरहेको छ ।’

वरिष्ठ नेता पौडेलले यो विषयमा सञ्चारमाध्यमलाई गहन रुपमा खोजी गर्न आग्रहसमेत गरे । ‘म चाहन्छु सञ्चारमाध्यमले यो बिषयमा सत्य तथ्य खोजेर बिषयबस्तु बाहिर ल्यायोस्,’ पौडेलले भने, ‘निगमको जिम्मा एउटा बदनाम व्यापारीको जिम्मामा दिन लागिएको जानकारी मैले प्राप्त गरेको छु, यो चलखेलको पछाडी अर्बौँ रकमको भागवण्डा लागेको छ ।’ नेता पौडेलेले ७० वर्ष लडेर मुलुकमा आएको व्यवस्थालाई काम लाग्न नसकेर फेर्ने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।

आयल निगमलाई डुबाएर नीजि क्षेत्रलाई इन्धनको कारोवार सुम्पन लागेको विषयमा सौर्य दैनिकले असार १० गते समाचार प्रकाशित गरेको थियो । यसअघि उपभोक्तावादी ज्योति बाँनियाले नेपाल आयल डुबाउन १० अर्बको चलखेल भएको रहस्य खोलेका थिए । बानियाँले प्रधानमन्त्री देउवा र आपूर्ति मन्त्री दिलेन्द्र बडूलाई हातमा लिएर हालसम्मकै सबैभन्दा ठूलो घोटाला काण्ड भइरहेको जानकारी दिएका थिए ।

सरकारकै मिलोमतोमा आयल निगमलाई डुबाएर बदनाम व्यापारिक घराना विशाल ग्रुपलाई इन्धनको सम्पूर्ण कारोवार जिम्मा लगाउन सरकारको उच्च तहमा तयारी भएको बाँनियाले बताएका थिए । विशाल ग्रुपको आफ्नै इन्धन आपूर्ति गर्ने र बिक्री गर्ने कम्पनीसमेत सञ्चालनमा छ ।

प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हातमा लिएर हालसम्मकै सबैभन्दा ठूलो घोटाला काण्ड हुँदै छ । सरकार जसरी पनि पेट्रोलको मूल्य २ सय २० र डिजेलको मूल्य दुई सय रुपैयाँसम्म पुर्याएर निगमलाई डुबाउने खेलमा लागेको छ ।

यसरी डुबेको निगमबाट पेट्रोलियम पदार्थको कारोबारको जिम्मा व्यापारिक घराना विशाल ग्रुपलाई दिने गरी उच्च तहमा तयारी भइरहेको छ । यसका लागि तीन(चार बैंकको खाता प्रयोग गरी आठदेखि १० अर्ब रुपैयाँको चलखेल भएको छ । विशाल ग्रुपको इन्धन आयात गरी बिक्री गर्ने आफ्नै कम्पनीसमेत सञ्चालनमा छ ।

‘मल किन दिएनौँ ?’

नेता पौडेलले असार १५ बितिसक्दा पनि किसानले मल नपाएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । समाजवादको चर्को गफ दिने सत्तागठवन्धन दल र प्रतिपक्षले किसानले मल नपाएको विषयमा बोल्नसमेत नचाहेको आरोप लगाए ।

‘किसानले चाहेको समयमा किन कहिले पनि मल पाइँदैन, काँग्रेसभन्दा बढी एमाले, एमालेभन्दा बढी माओवादी । माओवादीभन्दा बढी नेकपा (एकीकृत समाजवादी) । सबै समाजवादकै चर्काचर्की कुरा गर्छौँ । तर किसानले भोगिरहेको समस्याबारे कसैलाई बोल्न फुर्सद छैन,’ पौडेलले भने । पौडेलले किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए ।

प्रतिक्रिया