जसले सरकार बनाए पनि एमालेको भोट

बागमति सरकारमा नयाँ मोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सरकार रहेको बागमती प्रदेशमा नेतृत्व परिवर्तन गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द) हुटहुटी बढेपछि नेकपा (एमाले)ले नयाँ कार्ड फालेको छ । सत्ता गठबन्धन भत्काउन एमालेले जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने नयाँ कार्ड फालेको हो । तर, आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने एमालेको भनाइ छ ।

नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ’, उनले भने ।

सत्ता गठबन्धनभित्र नेतृत्वको विषयमा विवाद चलिरहेको बेला एमालेले गठबन्धन फुटाउने रणनीतिका साथ जसको नेतृत्वमा सरकार बनाएपनि विश्वासको मत दिने बताएको हो । पूर्व सहमतिअनुसार भन्दै काँग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दै हस्ताक्षर संकलन गर्न थालेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहज रुपमा सत्ता छाड्न नमानेपछि काँग्रेसले माओवादीसँग मिलेर हस्ताक्षर संकलन थालेको हो ।
मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् । बानियाँले सरकारको नेतृत्व परिवर्तनअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।

‘प्रक्रियागत विषय मिलाउन हस्ताक्षर संकलन गरिएको हो’, उनले भने, ‘संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ ।’ उनका अनुसार हालसम्म काँग्रेसका २२ र माओवादी केन्द्रका २३ सांसदको हस्ताक्षर संकलन भइसकेको छ । बागमतीमा बहुमतको सरकार बन्नका लागि भने ५४ सांसद चाहिन्छ । नेकपा एकीकृत समाजवादीबाट हाल मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डे र उनका पार्टी नेतृत्व परिवर्तन गर्न सहमत रहेको बानियाँको जिकिर छ ।

पूर्व सहमतिअनुसार नै काँग्रेसले नेतृत्व लिनेगरी अघि बढिएको भन्दै उनले समाजवादीका सांसदको पनि हस्ताक्षर संकलन गर्दै बहुमत जुटाएर प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाइने उनले बताए । यता मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको बैठकबाट हुने बताएका छन् । बागमती प्रदेशमा सरकार परिवर्तनको कसरत सुरु भएसँगै मुख्यमन्त्री पाण्डेले सो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मुख्यमन्त्री पाण्डेले गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने समेत बताए । उनले भनेका छन्, ‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रिय बैठकबाट हुनेछ । गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन् ।’

प्रतिक्रिया