४७ वर्षपछि व्यवस्थित बन्दै पोखरा बसपार्क

काठमाडौं । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि पोखराको बसपार्क व्यवस्थित बनाउन थालिएको छ। यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ । अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको छ । पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी भन्छन्, ‘लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ । तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ ।’ नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धुलोमुक्त हुने उनको भनाइ छ ।

उनका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो । आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ । यसैबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धुलो र हिलोमुक्त बनाउन निर्देशन दिएका छन् । उनले दीर्घकालीन समस्या समाधानका लागि डिपीआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गरिने बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गरेका थिए । झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । उपत्यका नगरविकास समिति अहिले महानगर प्रमुखको नेतृत्वमा छ । अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । – रासस

प्रतिक्रिया