ब्रह्मानन्दम ‘ह्रस्वदीर्घ’ मा

काठमाडौं । दक्षिण भारतीय चर्चित हाँस्यअभिनेता ब्रह्मानन्दमले नेपाली चलचित्र ‘ह्रस्वदीर्घ’ मा काम गर्ने भएका छन् । एक हजारभन्दा बढी चलचित्रमा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका उनले ‘ह्रस्वदीर्घ’ मा अभिनय गर्ने पक्का गरिएको निर्माण पक्षले जनाएको छ । निर्माण कम्पनी नीता चलचित्रस् र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषणसमेत पाएका उनलाई महँगो पारिश्रमिकमा अनुबन्धित गरिएको निर्माण पक्षले जिकिर गरेको छ ।

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको यस चलचित्रमा ब्रह्मानन्दमले काम गर्न लागेको निर्देशक चन्द्र पन्तसँगको तस्बिरमार्फत जानकारी दिइएको छ । तमिल र तेलुगू चलचित्रमा समेत अभिनय गरेका उनी अभिनयको ‘कमिक एक्सप्रेसन’ बाट चर्चित छन् । उनले सन् १९९९ मा बलिउड अभिनेता अमिताभ बच्चनसँग ‘सूर्यवंशम्’ मा अभिनय गरेयता कुनै हिन्दी चलचित्रमा अभिनय गरेका छैनन् । ब्रह्मानन्दमको उपस्थितिले चलचित्रको लाइनअप बलियो भएको अभिनेत्री नीताले बताइन् ।

‘ह्रस्वदीर्घ’ मा यसअघि सुनिल बर्मा, प्रदीपराज रावत, एक्टर अलीसमेत अनुबन्धित भइसकेका छन् । चलचित्रलाई बलिउड छायांकार कवीरलालले खिच्ने जनाइएको छ । नेपाल र भारतमा छायांकन गरिने यस चलचित्रमा धनञ्जय घलानी कास्टिङ निर्देशक छन् । नेपाली कलाकार हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेतको समेत चलचित्रमा मुख्य भूमिका रहेको निर्माण पक्षले जनाएको छ । असोजदेखि छायांकनमा जाने यो चलचित्रलाई भारतको चर्चित चलचित्र स्टुडियो रामोजीमा समेत सुटिङ गरिनेछ ।

प्रतिक्रिया