बुढीगंगामा पुनः मतदान गर्ने बाटो खुल्यो

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने बाटो खुलेको छ । मतगणना सुरु गर्न माग गर्दै दलबहादुर साउदले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो । सुनवाइपछि अन्तरिम आदेश जारी नहुने आदेशसँगै पुनः मतदानको बाटो खुलेको हो । आयोगले असार २३ गते मतदान गर्ने निर्णय गरिसकेको छ ।

यसअघि त्यहाँ निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । वैशाख ३० गते त्यहाँ चुनाव निष्पक्ष नभएको भन्दै आयोगले पुनः निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई हटाइएको थियो । उनीहरुलाई विभागीय कारबाही गर्न समेत आयोगले भनेको छ ।

यसअघिको निर्वाचन रद्ध गर्दै पुनः मतदान गर्ने निर्णयपछि एमाले निकट साउदले रिट दायर गरेका थिए । नगरपालिकामा १० वटा वडा छन्। यसअघिको निर्वाचनमा वडा नं २, ३, ४, ५, ७ र ९ मा विवाद भएको थियो । चार वटामा एमाले र दुई वटामा कांग्रेसले कब्जा गरेका थिए। त्यहाँ सत्ता गठबन्धन पुनः मतदानको पक्षमा र एमाले मतगणना गर्नुपर्ने अडानमा छन् ।

प्रतिक्रिया