१५ अर्बको विकास ऋणपत्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाको विकास ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ । बैंकले सोमबार सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात २ अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ मा हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अंक बराबर खरिद गर्न पाउने छन् । दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मंगलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।

यसैविच नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ९ अर्ब १० करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको ५ अर्ब गरी कूल २६ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

प्रतिक्रिया