मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी

Pannar; mielies

गलेश्वर । म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले बारीमा मकैबाली सप्रिदा दंग भएका छन् । पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ । लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुँदै आएको छ । यो उत्पादन यहाँका लागि राम्रो हो ।

यहाँ उत्पादन भएको करिब २५ टन मकैको बिउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत जिल्लासम्म बिक्रीवितरण हुने गरेको छ । कृषि प्राविधिक जगत बानियाँ बिउ मकै उत्पादन गरी बाहिरी जिल्ला पठाउने गरिएको जानकारी दिए । सिँचाइ, फौजीकिरा नियन्त्रण र आवश्यक मलको प्रबन्ध गर्नसके कृषकले मकैबाट पर्याप्त आम्दानी गर्न सक्ने उनको विश्वास छ । जिल्लामा पपकन सेतो र पपकन पहेँलो जातका मकै १ सय ५० हेक्टरमा लगाउने गरिएको छ । यी मकै राम्रो उब्जनी हुने गरेको स्थानीय बिसानले बताए ।

जिल्लाको १ हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, सितला तथा उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातको मकैखेती गरिन्छ । रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार र बाबियाचौर क्षेत्रमा मकै खेती बढी गरिन्छ । पछिल्लो समय हरियो मकै बिक्री गरी आम्दानी गर्ने क्रम बढ्दै गएको छ । यसले यहाँको किसानमा मकै खेती प्रति आकर्षण बढाएको पाइएको छ ।

प्रतिक्रिया