अशोक कोरिया ओपनको निर्णायक

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुनछुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछन् । जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनित भएका छन् । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनित गरेको अशोकले जनाएका छन् ।

क्याडेटको प्रतियोगिता जुलाई २८ देखि ३१ तथा जुनियरको अगष्ट २ देखि ७ तारिखसम्म बुल्गेरियाको सोफियामा आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनित हुने अशोक एक्लो हुन् ।

यसैबीच, तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् । यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गरेका हुन् ।

अमेरिकाकै बृहत प्रतियोगिता मानिने कुकिवान तेक्वान्दो एक्स्पोमा अफिसियल रेफ्री जर्जका लागि उनीहरु दुवैलाई आयोजकले नै छनोट गरेको बताइएको छ । कुकिवान तेक्वान्दो एक्स्पो ग्रान्डमास्टर एचके लीको अध्यक्षतामा आयोजना हुन लागेको हो ।

प्रतिक्रिया