ललितपुर । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको गाउँसभाको १०औँ अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ४ बमोजिम प्रक्रिया अगाडि बढाएर गाउँपालिकाको नाम संशोधन गरी महांकाल वैतरणी कायम गर्ने निर्णय गरेको जानकारी गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले दिए ।
‘हामी यो प्रस्ताव प्रदेशमा पठाउँछौँ । प्रदेशले केन्द्रलाई पाठएपछि निर्णय हुन्छ’, उनले भने । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महांकाल वैतरणी कायम गर्ने निर्णय भएको अध्यक्ष केसीले बताए ।
दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रूपमा परिचित महाकांलमा कालेश्वर महादेव मन्दिर, वैतरणी धाम, महांकाल मन्दिर र सिम्बा झरना रहेको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरूको बाक्लो भिड लाग्ने गरेको छ । दक्षिण ललितपुरकै बागमती गाउँपालिकाको नाम नजिकै रहेको मकवानपुरमा पनि उस्तै नाम रहेको भन्दै नाम परिवर्तनको बहस जारी छ ।
प्रतिक्रिया