माङसेबुङ र चुलाचुलीले लिम्बू भाषालाई कामकाजी बनाउने

इलाम । लिम्बू जातिको बाहुल्यता रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू जातिको मातृभाषाको सम्मान गर्दै लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने भएको हो । माङसेबुङले गाउँसभाको ११औं अधिवेशन र चुलाचुली गाउँसभाको १०औँ अधिवेशनमा आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू भाषालाई पालिकाभरी कामकाजी बनाउने तयारी गरेको हो ।

यसअघिकै कार्यकालमा माङसेबुङ र चुलाचुलीले परीक्षणका रूपमा एक÷एक वडामा लिम्बू भाषालाई कामकाजी बनाएको थियो । यसपटक दुवै गाउँपालिकाले एकैपटक पालिकाभरी लिम्बू भाषालाई कामकाजी बनाउने तयारी गरेको हो । माङबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू जातिको बसोवास रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । ३६ प्रतिशत राई जातिको बसोबास रहेको छ । चुलाचुली गाउँपालिकामा समेत लिम्बू जातिको बाहुल्यता रहेको छ ।

पालिकामा लिम्बू भाषा कामकाजीलाई प्रभावकारी बनाउन ‘दोभाषे कर्मचारी’ का रूपमा मातृभाषी कर्मचारी नियुक्त गर्नेछ । ‘दोभाषे कर्मचारी’ले कार्यालय र सेवाग्राहीबीच दोभाषेको काम गर्नेछन् । लिपिमा भने दुवै गाउँपालिकाले किरात सिरिजंगा लिपि प्रयोग गर्नेछ । जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले वडा–५ मा ०७५ सालमा र चुलाचुलीले भने ०७७ मा वडा–१ मा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गरेको थियो । लिम्बू जातिको एकल बाहुल्य रहेको ती वडामा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजीको रूपमा प्रयोगमा ल्याइएको थियो ।

ती वडाले आफ्नो कार्यालयको साइनबोर्ड, कार्यालयको लेटरप्याड, छाप एवं विभिन्न अनुसूची फारामहरूमा समेत लिम्बू भाषा र किरात सिरिजंगा लिपि प्रचलनमा ल्याएको छ । यसैगरी चुलाचुली गाउँपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँपालिकाले पहिलोपटक ‘बुहारी शिक्षा’ कार्यक्रम ल्याएको छ । पालिकाभित्रका शिक्षाबाट वञ्चित बुहारीहरूलाई बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आफ्नै पालिका र अन्यत्र गाउँपालिकाबाट विवाह गरी आएका बुहारीहरूले औपचारिक शिक्षा लिन चाहेमा सबै खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने नीति लिएको छ ।

त्यस्तै गाउँपालिकाभित्रका माध्यमिक तह उत्तीर्णमध्ये उत्कृष्ठ एक छात्र र एक छात्रालाई एमबिबिएस, इन्जिनियरिङ, कृषि जेटिए, भेटेरिनरी, एचए, स्टाफ नर्स, अहेब, ओभरसियर, ल्याब असिस्टेन्डलगायत प्राविधिक शिक्षा अध्ययनका लागि ‘अध्यक्ष छात्रवृत्ति कोष’ स्थापना गरी छात्रवृत्ति उपलब्ध गराइने नीति लिएको छ ।

चुलाचुलीले मातृभाषामा पठनपाठन गराउने सामुदायिक विद्यालयहरूलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमको सुरुआत गर्ने नीति लिएको छ । त्यस्तै पूर्व प्राथमिक कक्षाहरू प्रविधियुक्त बनाउने, मातृभाषा तथा आवश्यकताअनुसार आधारभूत तहमा अंग्रेजी माध्यम शिक्षालाई प्राथमिकता दिने, खानेपानी, इन्टरनेट र कम्प्युटर शिक्षालाई अनिवार्य बनाउने भएको छ ।

त्यस्तै पठनपाठनमा निरन्तताका लागि ‘एक शिक्षकको बिदाइ र अर्को शिक्षकको स्वागत’ कार्यक्रमको सञ्चालन गर्ने उल्लेख छ । त्यसैगरी चुलाचुली गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले अपांगता भएका व्यक्ति र वृद्धवृद्धाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रत्येक नागरिकसम्म विस्तार गर्ने भएको छ । स्वास्थ्य स्वयंसेविका, अपांगता भएका व्यक्तिका परिवार, एकल पुरुष, एकल महिला, सहिद परिवार, बेपत्ता परिवार, द्वन्द्वपीडित र दलित परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । चुलाचुली गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति लिएको छ । पत्नीको निधन भएको र अर्को विवाह नगरेका एकल पुरुषलाई भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सुत्केरीलाई पोषण उपलब्ध गराउने भएको छ । स्थानीय स्वास्थ्य संस्थामा कम्तिमा चारपटक गर्भ जाँच गराई तथा सुरक्षित मातृतव कार्यक्रम सञ्चालन भएको स्वास्थ्य संस्था सुत्केरी गराएको र ३५ दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा वच्चाको जन्मदर्ता गराउने आमालाई प्रोत्साहन गर्न सुत्केरी पोषण कार्यक्रमको संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया