जनकपुरधामको बजेट १ अर्ब ८० करोड

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले शुक्रबार नगरसभामा बजेट सार्वजनिक गरेका हुन् । विनियोजित खर्चमध्ये चालु खर्च १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजीगत खर्च ७३ करोड ३० लाख १८ हजार विनियोजन गरिएको छ । जसमा आर्थिक विकासतर्फ ४ करोड ५६ लाख, सामाजिक विकासतर्फ ६७ करोड ४२ लाख, पूर्वाधार विकासतर्फ ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन विकासतर्फ ५ करोड र सुशासन तथा संस्थागत विकास तर्फ ४९ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको छ ।

बजेटमा फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवर्धन, शिक्षा युवा तथा खेलकुद, रोजगारी सिर्जना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पूर्वाधार तथा शहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन लगायतलाई समेटेको छ । उल्लिखित खर्च बेहोर्न कुल राजस्वको अनुमान १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय तथा वाह्य स्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय राजस्व प्राप्त हुने अनुमान गरिएको छ ।

आन्तरिक स्रोततर्फ आन्तरिक राजस्व १४ करोड ३१ लाख १० हजार नेपाल सरकार राजस्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार प्रदेश सरकार राजस्व वाँडफाँडबाट १ करोड ७१ लाख ६८ हजार ८ सय र जनसहभागिताबाट १ करोड प्राप्त हुने अनुमान गरिएको छ । उपमहानगरपालिकाको सञ्चित कोषमा ३१ करोड ८३ लाख ७९ हजार १ सय रहेको छ । त्यसैगरी नेपाल सरकार ससर्त अनुदानबाट ५८ करोड १० लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३७ करोड ६४ लाख गरी जम्मा ९४ करोड ७४ लाख राजस्व प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकार ससर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ४० लाख, प्रदेश सरकार समपुरक अनुदानबाट २५ लाख र प्रदेश सरकार समानीकरण अनुदानबाट २ करोड ८१ लाख ६ हजार १ सय गरी ४ करोड ९६ लाख ६ हजार १ सय राजस्व प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया