‘मोचन’ माथि विमर्श

कास्की । साहित्यकार डा. तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि छलफल गरिएको छ । हिमालयन रिडर्स कर्नर पोखरामा भएको उक्त कार्यक्रममा उपन्यासलाई विभिन्न कोण र दृष्टिकोणबाट हेर्न सकिने वक्ता तथा समालोचकले बताएका थिए ।
साहित्यकार सरुभक्तले २१औँ शताब्दीलाई सम्बोधन गर्ने शक्तिशाली साहित्यिक विधा आख्यान भएको उल्लेख गर्दै मोचनलाई विभिन्न दृष्टिकोणबाट हेरेर व्याख्या गर्न सकिने बताए । उनले भने, ‘साहित्य रचनापश्चात् पाठकको हातमा पुग्दा उनीहरूले आफ्नै दृष्टिले पढ्छन् र लेखकको दृष्टिको कुनै अर्थ हुँदैन ।’

उनले आजभोलि कृति लेखिसकेपछि लेखकको मृत्यु हुन्छ भन्ने उत्तरआधुनिक चिन्तन छ भन्दै त्यही भएर पाठकका लागि कुनै पनि लेख व्याख्या गर्न खुल्ला रहने बताए । साहित्यकार सरुभक्तले धैर्यता र साधनाले लेखनलाई परिष्कृत गर्छ भन्ने कुरामा जोड दिए ।
नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले कथा आदिम परम्परा भएको बताए । उनले कथाको महत्वलाई प्रस्ट्याउँदै जन्मदेखि मृत्युसम्म कथा भएको भन्दै विज्ञानका कुरा भन्नलाई पनि कथा चाहिने जिकिर गरे । उनले नेपाली भाषा र त्यसमा राज्यको जिम्मेवारी हुनुपर्नेमा जोड दिए । राज्य उत्तरदायी हुन नसकेकोमा पनि उनले दुःखेसो पोखे ।

त्यसैगरी गजलकार प्रकट पगेनी ’शिव’ ले कविता, गीत र गजलभन्दा उपन्यास लेखन कठिन भएको र त्यसमा धैर्यताको साधना चाहिने बताए । कार्यक्रममा अन्नपूर्ण पोस्टका पत्रकार गोपीकृष्ण ढुंगानाले नेपालमा हुँदा सामाजिक संरचना र संस्कारका कारण बाँधिने र पश्चिमा देशमा पुग्दा त्यहाँको संस्कार र सभ्यताले स्वतन्त्र बनाई प्रेम पनि बदलिने दृश्यले आचार्यको उपन्यास मोचन फिल्म हेरेजस्तै लाग्ने बताए । मोचनमाथिको परिचर्चामा समीक्षात्मक टिप्पणी राख्दै उनले भने, ‘यो एउटा पढ्न लायक उपन्यास हो ।’

उपन्यासका बलिया र कमजोर पक्षको बारेमा उल्लेख गर्दै ढुंगानाले मोचन एउटा गतिलो उपन्यास हो र यसलाई अझ लयात्मक बनाउन सकिने धारणा व्यक्त गरे । उनले मोचनलाई ‘सेतो धर्ती’ सँग तुलना गरे । यस्तै लेखक आचार्यले पुरुष मनोविज्ञानमाथि पुरुष लेखकबाटै लेखिएका कमै कृतिमध्ये आफ्नो उपन्यास आएको बताए । उनले भने, ‘लेखकलाई जिम्मेवार बनाउने जिम्मेवारी समीक्षकहरूको हो ।’

श्रीमान् श्रीमतीको सम्बन्धमा दरार आयो भने यसको असर कति भयानक हुनसक्छ भन्ने कुराको उदाहरण मोचनले दिन खोजेको कुरा डा आचार्यको सुनाए । प्रेम, सम्बन्ध, परिवेश र अमेरिकी समाज तथा संस्कृति बुझ्न पनि मोचन पढ्नुपर्नेमा उनले जोड दिए । अभियानका संयोजक सञ्जीव पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव मोहन भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया