‘गुनासा भए पनि गठबन्धन अझै आवश्यक छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको अझै पनि आवश्यकता रहेको बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित कार्की ब्यान्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले गठबन्धन प्रति पार्टीका गुनासा भए पनि आवश्यकता रहेको बताए । ‘गठबन्धनप्रति हाम्रो धेरै गुनासा भए पनि गठबन्धनको अझै पनि आवश्यकता छ,’ उनले भने ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले उचित स्थान नदिएको गुनासो गरे। ‘हामीले संघीयता र समावेशी राजनीतिक प्रणालीको रक्षा गर्यौँ । फलस्वरूप हाम्रा सबै कदम सफल हुँदै गएका छन्,’ उनले भने, ‘त्यसकै प्रतिफलका लागि हामी स्थानीय चुनावमा होमियौँ । तर, सबैतिर गठबन्धनमा हामीलाई उचित स्थान दिइएन ।’

स्थानीय तह निर्वाचनमा पार्टीले पाएको मत हेर्दा आत्तिनु पर्ने अवस्था नरहेको नेपालको भनाइ थियो । ‘२७ प्रतिशत उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएका थियौँ,’ उनले भने, ‘शतप्रतिशत उम्मेदवारी दिँदा २० लाख मत आउँथ्यो। त्यसकारण आत्तिनुपर्ने कुनै कारण छैन ।’

प्रतिक्रिया