रासायनिक मल नपाएपछि गड्यौला मलमा किसानको आकर्षण

कैलाली । कैलालीका किसान यतिबेला रासायनिक मलको अभावमा मलबिनै धान रोप्न बाध्य छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादनमा लागेका छन् ।

टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् । गड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजिमा दौडनु नपरेको उनले बताए ।
थापाले व्यावसायिक रुपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत पूरा गर्न थालेका छन्। माटोको उर्बरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषिखेती गर्नेका लागि गड्यौला मल निकै उपयोगी हुन थालेको थापाको भनाई छ।

‘मैले वार्षिक २ सय क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएको छु । अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन,’ उनले भने, ‘किसानले गड्यौला मललाई जैविक मलको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायक नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल निकै उपयोगी देखिएको छ ।’

गाई भैँसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौला मल तयार पारिन्छ । चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौला राखिन्छ र गड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपम खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गर्ने गरिएको छ ।

माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको किसान नरेश रावलले बताए । उनले पनि विगत चार वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् ।

व्यावसायिक पशुपालनमा लागेका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौलालाई राखेर मल उत्पादनमा गरिरहेका छन् । ‘मैले यसलाई व्यावसायिक रुपैत दिएको छैन तर खेतीका लागि भने गड्यौला मल ठिक छ’, उनले भने, ‘सुरुआतमै रासायनिक मलको जस्तो प्रतिक्रिया गड्यौला मलको देखिँदैन । पछिका लागि र माटोको उर्बरा शक्ति कायम राख्न यो महत्वपूर्ण छ ।’

उनले पनि वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएका छन् । प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैशी बताउछन् ।

मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको उनको भनाई छ ।
‘हामीलाई पनि सुरुमा निकै चिन्ता थियो । अहिले खेती राम्रो मात्रै होइन माटोमा समेत सुधार आएको छ’, उनले भने, ‘माटोका लागि गड्यौला मल जति उपयोगी अरु कुनै छैन ।’ किसानले गड्यौला मलको अत्यधिक माग गरिरहेको उनले बताए । – रासस

प्रतिक्रिया