पोखरिया नगरपालिकाले ल्यायो ५१ करोड ९० लाखको बजेट

पर्सा । पर्साको पोखरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सफल पार्न ५१ करोड ९० लाख १४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख प्रधुमन चौहानको आदेशमा प्रमुख प्रशासकीय अधिकृत असोक रौनियारले ५१ करोड ९० लाख १४ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।

पोखरिया नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुँजिगत तर्फ २३ करोड १५ लाख तथा चालू खर्च तर्फ २८ करोड ७४ लाखको अनुमानित आय प्रस्ताव गरिएको हो । नगरपालिकाको कुल आन्तरिक श्रोतबाट ७ करोड २५ लाख आम्दनी मात्र देखिएको गरि ५१ करोड ९० लाख १४ हजार सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको उदघाटन प्रदेश सांसद प्रह्लाद गिरीले गरे । सो अवसरमा उनले बनेकोे नीतिलाई कार्यान्वयन गर्न जरुरी रहेको बताए । नगर प्रमुख प्रधुमन चौहान को अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौहानले पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य, कृषि, सिचाइलगायत पर्यटन र भौतिक पुर्वाधार विकास रहेको बताए । पोखरियाको टाउन प्लानिंगको समस्यालाई छिटै समधान गर्ने उनले बताए । साथै उनले पोखरिया नगरको विकासको लागि जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताए । काम गर्ने कर्मचारीहरु लाई पोखरिया नगरपालिकाले प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्ने उनले उल्लेख गरे ।

आउने दिनमा जनसमुदाय र राजनीतिकर्मीहरु सँग सल्लाह सुझाव लिएर अगाडि बढ्ने उनले बताए । नीति तथा कार्यक्रममा अन्य पार्टीका बक्ताहरुले पोखरियामा ईलाका प्रसाशन, मालपोत, नापी शाखालगायत का कार्यालयहरु स्थापना गराउन सहयोग गर्ने बताए ।

प्रतिक्रिया