पाँच किलो हेरोइनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको चार किलो केजी नौ सय ग्राम सेतो हेरोइनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सेतो हेरोइन कारोबार गरेको आरोपमा बौद्धबाट तीन विदेशी नागरिक र एक जना नेपालीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ब्यूरोका एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्नेमा तान्जनियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अब्बुलिकी, भारत घर भएका ४६ वर्षीय मुनिम सिंह, ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ घर भएका ३० वर्षीय बिक्की रौनियार रहेका छन् ।

तान्जनियाका अब्दुल्लाह असार २ गते दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौं आएका हुन् । ब्यूरोबाट खटिएका प्रहरीले विमानस्थलबाट पिछा गरेर उनलाई बौद्धस्थित एक होटलमा पक्राउ गरेको जानकारी एसपी श्रेष्ठले दिए ।

ब्यूरोका अनुसार उनको साथबाट चार किलो नौ सय ग्राम हेरोइन फेला परेको छ । अब्दुल्लाहले ल्याएको हेरोइन लिन आएका दुई भारतीय र एक जना नेपालीलाई पक्राउ गरिएको जानकारी एसपी श्रेष्ठले दिए । ब्यूरोका अनुसार केही दिनअघि मात्रै ब्यूरोले ५१ किलो सेतो हेरोइनसहित सात जना दक्षिण अफ्रिकी महिलाहरुलाई पक्राउ गरेको थियो । सेतो हेरोइन कारोबारमा कारोबारीले नेपाली भूमीलाई ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग गर्दै आएका छन् ।

ब्यूरोका एसपी श्रेष्ठले भने, ‘एक साताअघि मात्रै पक्राउ परेका विदेशी महिलाहरु र बरामद गरिएको लागू औषध घटनाको अनुसन्धान गर्ने क्रममा यो घटनाको रहस्य खुलेको हो । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । थप अनुसन्धान गर्दैछौं ।’

प्रतिक्रिया