अर्को एउटा शीत युद्धतर्फ घस्रिदो विश्वअवस्था

लोकनारायण सुवेदी

चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् । चीन रुसको सम्प्रभूता र सामरिक दृष्टिकोणको पक्षमा रहेको प्रष्ट पारेको बेहोरा चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । चीनको यो दृढ समर्थन र सहयोगात्मक भावनाले रुसी राष्ट्रपति पुटिनलाई ठूलो राहत मिलेको हुनुपर्दछ । किनभने पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाइरहेको र त्यसले निकै ठूलो आर्थिक संकट उत्पन्न हुन थालेको बेला रुसलाई चीनको आर्थिक सहयोगको आवश्यकता बढ्दो मात्रा रहेको थियो ।

रुस–युक्रेन युद्ध चलेको चार महिना पुग्न लागेको छ । तर यो युद्ध कसरी टुंगिने हो र के परिणति ल्याउने हो अहिले नै यकिन गरेर कसैले भन्न सकेको छैन । झट्ट बाहिर हेर्दा यो युक्रेन र रुस बीचको युद्ध भए पनि वास्तवमा यो अब नाटो पक्ष र नाटो विरोधी राष्ट्रहरूको युद्धकोरूपमा परिणत भएको देखिन्छ । वास्तवमा यो अमेरिकाको नेतृत्वमा नाटोका विस्तारका कारण उत्पन्न सुरक्षा संवेदनशीलताको उपज हो भनिएमा अत्युक्ति हुँदैन । यो युद्धले विश्वलाई दुइ ध्रुवमा खडा गरिदिएको छ । त्यसले गर्दा अहिले शक्ति राष्ट्रहरूको कूटनीतिक गतिशीलता पनि तीव्ररूपमा बढेको छ र आफ्नो शक्ति परीक्षणको रूपमा पनि युद्धलाई तिनले प्रयोग गर्न खोजिरहेको प्रतीत भइरहेको छ । यस हिसाबले यो कहिले तीव्र कहिले मन्द गतिमा लम्बिँदै जाने चरित्रको देखिएको छ । नाटो र रुस दुबै पछि सर्ने स्थितिमा अहिलेसम्म देखिएका छैनन् । युक्रेन त निमित्त नायक जस्तो मात्र भएर मार खाइरहेको छ ।

यो त युद्धका दुई पक्षको कुरा मात्र हो । मूल कुरा त यसले विश्वमा पारेको प्रभाव हो । अहिले यसको लेखाजोखा पनि भइरहेको छ । खासगरी रुस र बाँकी विश्वमा यसको आर्थिक, राजनीतिक, सामरिक र सामाजिक परिणाम के कस्तो हुँदै छ र हुनेछ भन्ने कुराले ठूलो अर्थ राख्दछ अनि आगामी विश्वको स्थिति, गति र परिणतिको पनि निर्धारण गर्दछ । प्रश्न के छ भने अत्यधिक घातक र विनाशकारी आणविक परमाणविक हातहतियारले सुसज्जित शक्ति राष्ट्रहरूले सीमित र कम क्षमताका हातहतियार मात्र प्रयोग गर्दा पनि ठूलो जनधनको क्षति भइरहेको स्थितिमा ठूलो क्षमताका विध्वंशकारी शस्त्रास्त प्रयोग गरे भने अत्यन्तै छोटो समयमा अकल्पनीय विनाश हुन जाने कुरा प्रष्ट छ । त्यसैले त्यस्तो युद्धमा अघि बढ्ने कुरा युद्धकारी पक्ष स्वयंका लागि पनि आत्मघाती हुने कुरा तिनले बुझेका छन् ।

युद्धरत शक्ति राष्ट्रहरूकाबीच युक्रेनको मूल्यमा भइरहेको युद्ध त्यसैले लम्बिँदै गएको र यसले बढ्दो क्षति र संकट बाहेक कुनै परिणाम नआएको आजको स्थिति हो । युक्रेनलाई आफ्नो पक्षमा नाटोमा ल्याउने अमेरिकी नेतृत्वको नाटो र नाटोमा जान नदिने रुस बीचको युद्ध नाटोले युक्रेनलाई समर्थन दिँदासम्म अहिले जस्तै नै लम्बिने देखिन्छ । नाटोले लगातार युक्रेनलाई युद्ध सामग्री दिएर यस्तै संकेत दिइरहेको छ । यसले गर्दा स्थिति तत्काले सामान्य दिशातर्फ मोडिने संकेत मिल्दैन । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै नै युक्रेनलाई एक अर्ब डलर बराबरको अतिरिक्त सैन्य सहयोग गर्ने जुन घोषणा गरेका छन् त्यसले पनि युद्ध लम्ब्याउने र रुसलाई पहिला १९९० तिर अफगानिस्तानमा जस्तै फसाउन खोजेको प्रतीत हुन्छ । युक्रेनलाई नयाँ अफगानिस्तान बनाउने दिशामा नाटो देशहरू र खासगरी अमेरिका लागेको देखिन्छ । तर अफगानिस्तानबाट अमेरिकाले विनाशका बीचबाटै फर्कनु परेको आफ्नो इतिहासलाई हेर्न खोजेको देखिँदैन ।

यद्यपि अहिलेको युक्रेन समस्याले युरोपको सामरिक स्थिति त बदलेको छ नै यसले विश्वको आर्थिक स्थिति पनि नराम्रोसँग चर्मराइरहेको छ । मूलतः ऊर्जा आपूर्तिमा नराम्रोसँग नकारात्मक असर परिरहेको छ । फलतः कच्चातेल र प्राकृतिक ग्यासको आपूर्तिमा परेको असरले तिनको मूल्य अत्यधिक बढेको छ । यसको असर हाम्रो देशमा पनि हरेक साता बढ्दो तेलको मूल्य वृद्धिले थप प्रष्ट पारिरहेको छ । यसका अतिरिक्त युक्रेनबाट ठूलो मात्रामा गहुँको निर्यात हुन्थ्यो । पश्चिम एसियाली देश र अफ्रिका युक्रेनकै गहुँमा निर्भर रहेका छन् । युद्धले गर्दा अहिले त्यस क्षेत्रमा गहुँको आपूर्ति बन्द छ । त्यसैले हालै संयुक्त राष्ट्रका एजेन्सीहरूले चेतावनी दिँदै भनिसकेका छन् कि युक्रेनको गहुँमा निर्भर रहेका देशहरूमा भोकमरीको मार खेप्नुपर्ने स्थिति उत्पन्न हुन सक्तछ । भारतले पनि यस युद्धको प्रभावले गर्दा गहुँको निर्यात रोकेको छ । यद्यपि उसले ‘जीटुजी’ (सरकार–सरकार बीच) एजेन्सीका माध्यमबाट गहुँको आपूर्ति गराउन माग पनि गरेको छ ।

अर्कोतिर चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् । चीन रुसको सम्प्रभूता र सामरिक दृष्टिकोणको पक्षमा रहेको प्रष्ट पारेको बेहोरा चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । चीनको यो दृढ समर्थन र सहयोगात्मक भावनाले रुसी राष्ट्रपति पुटिनलाई ठूलो राहत मिलेको हुनु पर्दछ । किनभने पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाइरहेको र त्यसले निकै ठूलो आर्थिक संकट उत्पन्न हुन थालेको बेला रुसलाई चीनको आर्थिक सहयोगको आवश्यकता बढ्दो मात्रा रहेको थियो । चीनले जे जति ऊर्जाको आयात रुसबाट गरिरहेको छ त्यो अब बढ्ने संकेत पनि रुसले पाएको हुुनुपर्दछ । अनि अन्य सामानहरूको आयात पनि कटौती नहुने कुरामा पनि रुस आश्वस्त भएको हुनुपर्दछ । यसैबीच चीनले रुसबाट आयात गरिने तेलको मात्रा बढाएको खबर पनि प्रकाशमा आइसकेको छ । यो बितेको वर्षको भन्दा ५५ प्रतिशत बढीले वृद्धि गरेर रेकर्ड कायम गरेको बताइँदै छ । यसले गर्दा रुस अहिले चीनमा साऊदी अरबभन्दा बढी तेल निर्यात गर्ने देश बनेको छ ।

वास्तवमा रुस र चीनका राष्ट्र प्रमुखहरूको यो पछिल्लो भावभंगीमाले यही संकेत गर्दछ कि चीन अमेरिकी विश्वनीतिको हरेक किसिमले सामना गर्न सक्षम छ । चीन अहिले पनि रुसको सामरिक दृष्टिकोणको चर्चा गर्दछ र यसरी समस्यामा परेको रुसलाई साथमा लिएर र सहयोग गरेर सँगसँगै अघि बढ्न चाहन्छ । यसप्रकार चीन अमेरिका र नाटो देशहरूको सामना गर्न परोक्षरूपमा दृढतापूर्वक अघि बढिरहेको छ । बस्तुतः आज विश्वव्यापी रूपमा हेर्ने हो भने विश्वको समस्या नै अमेरिका र चीनबीचमा रहेको टक्कर देखिन्छ । यस स्थितिमा चीनले रुसको साथ दिनु र अमेरिकाले नाटोलाई धापदिनुले कुरा के हो बुझ्न सकिन्छ । तर अमेरिकालाई के थाहा छ भने आफ्नो दबाबमा रुसबाट ऊर्जा आपूर्ति नगर्ने कुरामा युरोपेली देशहरूले निरन्तर लागिरहने अमेरिकालाई विश्वास छैन । किनभने अमेरिकाको कुराले उनीहरूको ऊर्जा समस्या हल हुँदैन । जीवन चलायमान हुन सक्तैन । त्यसैले रुसमाथि धेरै ठूलो दबाब बढाउँदा स्थिति भड्किन सक्छ र त्यो थामिनसक्नु हुन सक्छ भन्ने कुरा अमेरिकी बाइडेन प्रशासनले राम्ररी बुझेको हुनुपर्दछ र सायद त्यसैलाई उसले शान्ति माथिको खतरा भन्ने गरेको छ ।

यसरी आज रुस–युक्रेन युद्धको विश्व व्यवस्थामाथि नै गम्भीर असर पर्न जानु अस्वाभाविक छैन । यसले विश्वलाई एउटा नयाँ शीत युद्धको अवस्थामा धकेल्ने सम्भावना पनि टड्कारै छ । यसको एउटा किनारामा अमेरिका र अर्कोतिर चीन हुने कुरा पनि प्रत्यक्ष प्रकट नै भइसकेको छ । यस स्थितिमा नेपालजस्ता देशहरूले विश्वलाई शान्ति, स्थिरता र अग्रगमनको असंलग्न बाटोमा दृढ रहेर अघि बढ्न भन्दा अर्को कुनै उपाय छैन । विश्वभरीका शान्तिकामी र साम्राज्यवादी युद्ध विरोधी शक्तिहरू नेपालका मित्र हुन् भन्ने कुरालाई आत्मसात गर्न दायाँबायाँ नलागी अग्रसर हुनै पर्दछ । नेपालको रणनीतिक र भू–राजनीतिक स्थितिले यही माग गर्दछ । कतैतिर नबहकिई सुझबुझपूर्ण तरिकाले अघि बढ्नु आजको ज्वलन्त आवश्यकता हो ।

प्रतिक्रिया