शुक्रबार बिहान अद्भुत खगोलीय दृश्य देखिँदै

वसिंगटन । यो साता एउटा दुर्लभ खगोलीय घटना हेर्ने अवसर पृथ्वीवासीलाई जुरेको छ । मौसम राम्रो भएमा उत्तरी गोलार्धका अधिकांश स्थानबाट पाँचवटा ग्रह र चन्द्रमा एउटै लहरमा रहेको देखिनेछ। बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि बिहानीपख सूर्योदयभन्दा अगाडि एउटा वक्ररेखामा देखा पर्नेछन् ।

असार ९ गते बिहीवारदेखि असार १० गते शुक्रवारसम्म तिनको संयोजन दर्शनीय अवस्थामा हुनेछ । यो संयोजनलाई अद्भुत घटना मानिन्छ । खाली आँखाले नै ग्रहहरूको यो खगोलीय भेला देख्न सकिनेछ । यसअघि सन् २००४ मा ती ग्रहहरू त्यसरी एकैठाउँ देखा परेका थिए । दक्षिणी गोलार्धबाट बुध र शुक्र ग्रह बिहानीपख देखा पर्छन् । तिनको बीचमा रोहिणी तारा हुनेछ । रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एउटा हो ।

यसको व्यास सूर्यको भन्दा ४४ गुना बढी छ र यो रातो रङ्गको देखिन्छ । आकाश हेरेर राति अबेरसम्म बस्नुहुन्छ भने सबैभन्दा पहिला तपाईँ शनि देख्नुहुन्छ । शनि मध्यराततिर उदाउँछ। सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मङ्गल देखा पर्छन् । सूर्योदय अघि शुक्र उदाउँछ र सूर्योदयसँगै बुध देखा पर्छ ।
ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण भएको ज्योतिषीहरूको मान्यता छ । ग्रहहरूको यस्तो युतिको सम्बन्ध शक्ति प्रवाहसँग हुन्छ । त्यसले युद्धको अवस्थाबाट शान्ति र सद्भावतिर मानवजातिलाई लैजाने कसैकसैको विश्वास छ । यसको अर्थ दुष्ट प्रवृत्तिलाई अन्ततः प्रेम, स्वीकार र सहकार्यले विस्थापित गर्न सक्छ ।

प्रतिक्रिया