रौतहटमा बर्सेनि बाढीको समस्या

कालो बादल देख्ने बित्तिकै हुन्छन् त्रसित

रौतहट । वर्षायामको सुरुआतसँगै रौतहट जिल्लास्थित नदीहरूमा बर्सेनि आउने सम्भावित बाढीको त्रासले यहाँका स्थानीय बासिन्दा चिन्तित भएका छन् । जिल्लास्थित बागमती, लालबकैया, झाँझलगायत स–साना नदीमा बर्सेनि आउने बाढीले समस्या खेप्दै आइरहेका यहाँका बासिन्दा वर्षायामको आगमनसँगै सम्भावित बाढीको त्रासले चिन्तित भएका हुन् ।

गत वर्ष बाढीका कारण दुई पुरुष र दुई महिलाको मृत्यु भएको थियो भने करोडौँको सम्पत्तीमा क्षति पुगेको थियो । नदीमा बर्सेनि आउने बाढीले ठूलो जनधनको क्षतिसँगै सर्वसाधारणले निकै समस्या झेल्दै आइरहे पनि यसको जोखिमबाट बच्न कुनै ठोस उपाय नहुनाले यहाँका बासिन्दा चिन्तित रहेको स्थानीय रमेश सहनीले बताए । बागमती र लालबकैया नदीमा तटबन्ध रहे पनि झाँझ खोलामा कुनै ठोस उपाय नहुनाले दुर्गाभगवती, यमुनामाई गाउँपालिकासहित गौर, राजदेवी नपाका बासिन्दा प्रभावित हुँदै आइरहेका छन् ।

त्यस्तै बागमती र लालबकैया नदीमा तटबन्ध रहे पनि लगातारको वर्षासँगै आउने बाढीले तटबन्ध कटान गरी क्षति पु¥याउँदै आएको छ । गाउँबस्तीमा पानी प्रवेश गरी किसानको धान खेतीका साथै ठूलो जनधनको क्षति हुने गरेको राजनीतिकर्मी अशोक सिंहले बताए ।

सुक्खा मौसममा यी नदीको तटबन्धको अवलोकन तथा क्षतिग्रस्त ठाउँको मर्मत नगरी बाढीको समयमा कटान नियन्त्रण गर्ने गरेकोले समस्या हुँदै आइरहेको उनको आरोप छ । स्थानीय सरकारले पनि बाढी बस्तीमा पसेर क्षती भएपछि मात्र उपाय सोच्ने, राहतस्वरूप चामल, चिउरा र दाल बाँड्नेबाहेक दीर्घकालीन समस्या समाधानको उपाय नखोज्दा बर्सेनि रौतहटवासी बाढीको चपेटामा पर्नुपर्ने बाध्यता रहेको गौर नगरपालिकाका मेयर प्रत्यासी मोहन यादवले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले पनि ठोस कदम नचाल्दा बर्सेनी रौतहट डुबानमा पर्दा जनधनको क्षति भइरहेको उनले बताए । यसपटक डुबान र बाढीबाट नागरिकलाई जोगाउन सरकारले पूर्वतयारीका काम अघि बढाइरहेको मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले बताए पनि पूर्वतयारी भने पहिलाभन्दा फितलो रहेको रौतहटका बासिन्दाले बताएका छन् । मधेस प्रदेशमा ६० भन्दा बढी पालिका बाढी र डुबानको उच्च जोखिममा पर्छन् । समयमै प्रभावकारी योजना नबन्दा र कार्यान्वयन गरिएन भने फेरि विगतको जस्तै ठूलो जनधनको क्षति हुन सक्ने सरोकारवाला निकायको आँकलन छ ।

प्रतिक्रिया