बंगलादेश र पाकिस्तानमा ऊर्जा संकट

इस्लामावादं । इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् । श्रीलंका लामो समयदेखि गहिरो आर्थिक संकटमा छ । पछिल्लो समय पाकिस्तान र बंगलादेशमा पनि ऊर्जा संकट देखिएको छ ।

विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबीच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन् । जसअनुसार बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न अधिकारीहरूलाई आदेश दिएको छ ।
प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ ।

पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यवसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ । पाकिस्तान सरकारले तोकेको सीमा लामो समयसम्म विद्युत् कटौतीबीच ऊर्जा संरक्षण गर्न सरकारले घोषणा गरेका उपायहरूको एउटा हिस्सा हो । ताप लहरका कारण पछिल्लो समय पाकिस्तानमा ऊर्जा अभाव बढेको छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वभर इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रतिब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेलको मूल्य मार्चमा १२४ डलरमा उक्लिएको थियो । अहिले प्रतिब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया