चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसी जस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएका हुन् ।
उनले भने, ‘एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।’ एमसीसी र एसपीपी दुवै परियोजना पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए ।
अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । उनले भने, ‘अहिले गठबन्धन जे हो त्यही जान्छ ।’ पार्टीका एक–दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।
प्रतिक्रिया