महेन्द्रनगर । कञ्चनपुरको राष्ट्रिय गौरबको आयोजनामा पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ०७३ सालमा १३ किलोमिटर मूल नहर तयार भयो । ०६३/६४ मा आयोजनाको काम सुरु भए पनि कामको गति लिन नसकेका बेला निर्माणको अन्तिम चरणमा रहेको २८ किलोमिटर मूलनहरसम्म शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । हाल १५ किलोमिटर मूल नहर (शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली) सम्म तीन प्याकेजमा नहर निर्माणको अन्तिम चरणमा छ ।
केही वर्षअघि मात्रै राष्ट्रिय गौरबको आयोजनामा समेटिएर प्राथमिकतामा परेको आयोजना निर्माणका लागि आर्थिक वर्ष ०७९÷८० का लागि सरकारले १ अर्ब २६ करोड रकम विनियोजन गरेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणले जनाएको छ । लामो समय मुआब्जा अल्झन्, रकम अभाव लगायतका कारणले कछुवा गतिमा अघि बढ्दै आएको आयोजना पछिल्लो समय भने निर्माणको गति बढाउनुका साथै शाखा नहर बनाएर करिब ५ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित अघि बढेको छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले आयोजनाअन्तर्गत निर्माण भएको मूल नहरससम्मको २२ वटा शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरुआत भएको बताए । जग्गा अधिग्रहणका लागि अयाोजनाले भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिका–७, ८ वडासम्मको विवरण सार्वजनिक गरेको छ ।
जग्गाधनीलाई ३५ दिने म्याद दिँदै आयोजनाले मुआब्जा प्रक्रियाका लागि आयोजनामा निवेदनसहित आउन आग्रह गरेको छ । ‘लामो प्रयासपछि शाखा नहर निर्माणले गति पाउने भएको छ’, निर्देशक बमले भने, ‘नहरमा पानी छोड्ने विषयमा पनि भारतीय पक्षसित समन्वय हुँदैछ ।’
त्यसैगरी मूल नहरमा पानी छाड्ने विषयमा नहर अनुगमनका लागि भारतीय एनएचपिसीको टोलीसमेत यहाँ आएको छ । ‘भारतीय टोलीलाई आज बनेको मूल नहर अनुगमन गराएर पानी कहिलेदेखि छाड्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ’, निर्देशक बमले भने, ‘भारतले ब्रह्मदेव क्षेत्रको नेपाली भूमिसम्म बनाउनुपर्ने १ हजार २ सय मिटर मूल नहर बनाए पनि पानी परीक्षण गर्न बाँकी छ ।’ महाकाली सन्धीअनुसार भारतले महाकाली नदीमा हेड रेगुलेटर लगायतका संरचना र नेपाल–भारत सीमानासम्म १ हजार २ सय मिटर लम्बाइको मूल नहर बनाउनुपर्ने हो । जुन सम्झौताको करिब २४ वर्षपछि पूरा भएको छ ।
शाखा नहरहरू निर्माण भएपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानहरूले सिँचाइ सुविधा पाउनेछन् । १० वर्षभित्र मूल नहर निर्माण सक्ने गरी ३५ अर्बको योजना बनाइएको छ । १ सय ५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार पाँच सय हेक्टर जमिनलाई सिँचाइ सुविधा पुग्नेछ । यहाँको बेदकोट नगरपालिका–५ धरमपुरका लालबहादुर डगौंराले हरेक वर्ष खेती गर्ने बेला सिँचाइको समस्या हुने गरेको बताए ।
‘नहरमा पानी आए त किसानहरू कृषि पेसामा अझ बढी आकर्षित हुने थिए’, उनले भने, ‘आफ्नै खेतका लागि पानी छैन, अधिँया लिएर कमाउन पनि दुखः नै छ ।’ त्यसैगरी शुक्लाफाटा नगरपालिका–१ का रामप्रसाद रानाले दशकौँअघि गाउँमा सिँचाइ पुग्ने भन्दै नहरका लागि नापजाँच गरिएको बताए । ‘बोरिङ गर्दा पनि पानी आउँदैन’, उनले भने, ‘बस्ती बसेयता आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता अझै हटेको छैन ।’ उनले महाकाली सिँचाइ आयोजनाले शाखा नहर निर्माण अघि बढाएर चाँडै किसानको खेतमा सिँचाइ सुविधा पु¥याउन पहल गर्नुपर्ने बताए ।
प्रतिक्रिया