राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनमा तीव्रता

विराटनगर । नेपाल सरकारको राष्ट्रिय अभियानको रूपमा रहेको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यका लागि मोरङको मिक्लाजुङ गाउँपालिकामा विवरण संकलन अभियान प्रारम्भ भएको छ । सो गाउँपालिकामा सोमबार एक कार्यक्रमको आयोजनागरी मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण संकलन अभियानको शुभारम्भ गरे । नौ वटा वडा रहेको सो पालिकामा एउटा वडामा चार वटा स्टेसन राखेर १५ दिनसम्ममा विवरण संकलन गरिने जनाइएको छ ।

अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले नेपाल सरकारले सुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सवैलाई सेवा लिन आग्रह गरे । नेपाल सरकारले दिने सबै प्रकारका सेवा परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सबै नेपालीलाई परिचयपत्र बनाउन उनले आग्रह गरे । मोरङको १७ पालिका मध्ये सात वटा पालिकामा परिचयपत्रका लागि विवरण संकलनको काम सम्पन्न भइसकेको छ । त्यसबाहेक जिल्ला प्रशासन कार्यालय मोरङमा चार वटा स्टेसन राखेर विवरण संकलन गर्ने काम भइरहेको छ ।

गत ४ असोजबाट मोरङमा सुरु भएको सो अभियानमा अहिलेसम्म दुई लाखभन्दा बढी व्यक्तिको विवरण संकलन गर्ने काम भइसकेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । परिचयपत्र पत्र बनाउन व्यक्तिगत, जैविक तथा आँखाको रेटिना तथा औँठाको छापसहित विवरण संकलन गरिनेछ ।

परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा बनाउँदा बसाइँसराइको कागजपत्र पेस गर्नुपर्ने अभियानका फोकल पर्सन एवं सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले बताए ।

तीनपुस्ते विवरणसहित अहिले नेपाली नागरिकताको विवरण राखिने व्यवस्था मिलाइएको परिचयपत्रमा क्रमशः नेपाल सरकारले प्रदान गर्ने सबै सेवा सुविधाको विवरण समेटिने भएकाले फर्ममा विवरण भर्दा शुद्ध भाषामा भर्दिनसमेत उनले आग्रह गरे । कार्यक्रममा बोल्नु हँुदै मिक्लाजुङ गाउँपालिका अध्यक्ष वविकुमार राईले घरदैलोमा आएको सेवालाई उपयोगगरी अभियान सफल बनाउन आग्रह गरे । सो पालिकाका उपाध्यक्ष दिनेश पौडेलले वडाहरूको भौगोलिक अवस्था हेरेर स्टेसन राख्दा सबैलाई सहज हुने बताए । तोकिएको अवधिमा पनि परिचयपत्र बनाउन छुटफुट भएका नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालय मोरङमा आएर परिचयपत्र बनाउने व्यवस्था मिलाइएको छ ।

असोजको पहिलो हप्ताबाट सुरु भएको परिचयपत्र विवरण संकलनको काम आगामी पाँच महिनाभित्र सबै स्थानीय तहमा सम्पन्न गरिने र त्यसपछि ६ महिनाभित्र नेपाली नागरिकले आप्mनै वडामार्फत राष्ट्रिय परिचपत्र पाउनेछन् । नेपाली स्मार्टकार्डको रूपमा रहेको सो परिचयपत्र निःशुल्क पाउने व्यवस्था मिलाइएको छ । परिचयपत्रमा बैंक तथा वित्तीय संस्थाको सेवा, सवारीचालक अनुमतिपत्र, सम्पती कारोबार, सामाजिक सुरक्षा भत्ता, मतदाता नामावली, अपराध अनुसन्धान, स्वास्थ्य सेवा, व्यक्तिगत घटना दर्ता, राजस्व संकलन तथा युटिलिटी सेवालाई उपयोग गर्ने गरी नेपाल सरकाले व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया