रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलिया घाटको पुल बनेर पनि सञ्चालनमा आइसक्नुपर्ने भए पनि ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालयले ठेक्का रद्द गरिदिएको छ । ०७१ असारमा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले करिब १४ करोड ९२ लाख २७ हजार १ य ५० रुपैयाँमा ठेक्का सकार गरेको सो पुल ०७४ असार २५ भित्र काम सक्ने सम्झौता गरेको थियो ।
तर, निर्माण सुरु गरेको आठ वर्ष भइसक्दा पनि करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सात वटा पिल्लरसहित कुल २ सय २५ मिटर लम्बाइ, ७ दशमलव २ मिटर चौडाइको रहेको सो पुल समयमै निर्माण सम्पन्न नगरेर पप्पु कन्स्ट्रक्सनले आलटाल गरिरहेको थियो ।
सम्झौताअनुसार समयमै पुल नबन्दा पाँच जनाले डुंगा दुर्घटनामा ज्यानसमेत गुमाइसकेका छन् । ठेकेदार र सडक कार्यालयबीच पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको पाँच वर्ष हुन लागेको छ । ठेकेदारले सम्झौताअनुसार काम नगरेको र पटकपटक लिखित तथा मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेकाले सम्झौताको सर्तबमोजिम सडक डिभिजनले यही १० जेठमा सूचना प्रकाशन गरी ठेक्का तोडिएको जनाएको डिभिजन प्रमुख दारोगा प्रसाद साहले बताए ।
‘ठेक्का तोडिएको जानकारी ठेकेदार कम्पनीले पाइसकेको छ, निर्माणाधीन अवस्थामै पुल अलपत्र पारेर गएको ठेकेदारलाई सडकले काम सुरु गर्न पटकपटक ताकेता गरेको भए पनि समयमै काम गरेनन्, ‘कामै नगरेपछि बाध्य भई ठेक्का तोडेका हौँ’, उनले भने, ‘अदालतको आदेश भन्दै विनाजानकारी निर्माणको काम सुरु गरेको थाहा पायौँ । त्यही भएर स्थानीय प्रशासनको सहयोग लिएर काम बन्द गरायौँ ।’ यता अदालतको आदेश भन्दै सडक कार्यालयलाई जानकारी नै नदिई पप्पुले ठेक्का तोडिएकै पुलको काम धमाधम अघि बढाएपछि सडक कार्यालयले आइतबारबाट काम बन्द गराइदिएको छ ।
पप्पुले ठेक्का तोडिएकै पुलको काम धमाधम अघि बढाएपछि स्थानीय प्रशासनको सहयोगमा काम रोकिएको हो । काम बन्द गराउन गएका सुरक्षाकर्मी र निर्माणस्थलमा खटिएका ठेकेदारका प्रतिनिधिबीच केहीबेर भनाभनसमेत भएको थियो । सडकले जिल्ला प्रशासनलाई पत्र पठाई ठेक्का तोडिएको पुलको विनाजानकारी पप्पु कन्स्ट्रक्सनले निर्माणको काम गर्न लागको भन्दै रोक्न पत्र पठाएको थियो । समयमै पुल नबन्दा गौर र ईशनाथमा वर्षामा आवतजावतमा समस्या पर्दै आएको छ भने स्थानीय कहिले डुंगा त कहिले बाँसको पुलबाट जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन् ।
राैतहट
प्रतिक्रिया