रौतहट । डिभिजन वन कार्यालय रौतहटमा लाखौँ रकम हिनामिना गर्न कार्यालय प्रमुख र जिल्ला वन पैदावार आपूर्ति समितिका प्रमुख नै संलग्न रहेको पाइएको छ । वन कार्यालय प्रमुख अमरदेव यादव र वन पैदावार आपूर्ति समितिका प्रमुख बिमल ठाकुरले सरकारी खातामा जम्मा गर्नुपर्ने करिब १ करोड ३१ लाख ९ हजार ९ सय ६४ रुपैंया बैंक दाखिला नगरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका हुन् । उनीहरूले आफ्नो पद र अख्तियारको दुरुपयोग गरेर करोडौँ रुपैयाँ अपचलन गरेको भए पनि उनीहरूमाथि कारबाही हुन सकेको छैन ।
महालेखाको प्रतिवेदनले यादव र ठाकुरले सरकारी नगद अपचलन गरेको भन्दै कुल रकमको १० प्रतिशत हर्जाना समेत असुल उपर गर्न भनेको भए पनि उनीहरू राजनीतिक आडमा सरकारी रकम चलाउने र नियम कानुनको धज्जी उडाउने कार्यमा लागेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी उत्तरदायित्व ऐन २०७६ को दफा २८ मा आफ्नो जिम्मामा आएको सरकारी नगद सोही दिन वा त्यसको भोलिपल्ट यथा स्थानमा दाखिला नगरेमा कार्यालय प्रमुखले १० दिनभन्दा बढी ढिलो गरेको भएमा १० प्रतिशतका दरले जरिवाना हुने स्पष्ट कानुन भए पनि वन प्रमुख यादव र आपूर्ति प्रमुख ठाकुरले महिनौँ सरकारी रकम दुरुपयोग गरेका हुन् ।
उनीहरूले सरकारी रकम अपचलन गरेर सिंगो कर्मचारीतन्त्रको नाम मात्र बदनाम गराएको छैनन्, महालेखाले जरिवाना तिर्न भनेको करिब १३ लाख रुपैयाँसमेत तिर्न अटेर गरिरहेका छन् । राजनीतिक पहुँचका आडमा यहि वैशाख १५ गते उमेर हदका कारण विकाश दिनुपर्ने डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादव कामकाजमै छन् । जिल्ला वन पैदावार आपूर्ति समितिबाट गत वर्ष संकलन भएको रकम आर्थिक वर्षभित्र दाखिला नगर्ने कार्यालय प्रमुखलाई हालसम्म कुनै कारबाही नहुनु कानुनी राज्यको उपहास भएको अधिवक्ता विपीन गौतमले बताए ।
राैतहट
प्रतिक्रिया