वृद्ध भत्ता बुझ्न तीन दिन पैदल, घर फर्कंदा रित्तो हात

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्ध नागरिक रित्तो हात घर फर्किंदै । तस्बिर : डम्बर बोहरा

बैतडी । सिगास गाउँपालिका कले लुहार, महा लुहार र कालु लुहार बुधबार सँगै वृद्ध भत्ता बुझ्न भन्दै घरबाट हिँडे । बिहान झिसमिसेमै घरबाट हिँडेका उनीहरू दुई दिनको पैदल यात्रापछि वडा–२ मा रहेको कृषि विकास बैंकमा पुगे । तेस्रो दिन बैंकमा पुगेका उनीहरू भत्ता नलिएरै फर्किन बाध्य भए । शुक्रबार बैंकमा पुगेका उनीहरू दिनभर लाइनमा बसे पनि पालो नपुगेपछि निरास भएर फर्किन बाध्य भए । ६० वर्षीय कालु लुहारले भने, ‘समाजिक सुरक्षा भत्ता बुझ्न सारै गाह्रो भयो । बैंकमा ठेलमठेल भिड थियो, पालो नै आएन । शनिबार र आइतबार बैंक बन्द हुने भएपछि रित्तै फर्किन बाध्य भयौँ ।’

भौगोलिक विकटता र बैंकिङ प्रणाली झन्झटिलो भएका कारण दुःख भएको उनीहरूको भनाइ छ । ‘तीन दिन हिँडेर बैंकमा पुगे पनि रित्तै फर्किन बाध्य भयौँ’, महा लुहारले भने, ‘वडामै सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यवस्था भएको भए सजिलो हुन्थ्यो ।’ वृद्ध तथा समाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया वडास्तरमै हुनुपर्ने उनीहरूको साझा धारणा छ । अहिले सिगास गाउँपालिकामा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । कृषि विकास बैंकको शाखा वडा–२ मा छ ।

भौगोलिक रूपमा विकट रहेको पालिकामा समाजिक सुरक्षा भत्तादेखि बैंकिङ कारोबारका लागि सेवाग्राहीलाई सास्ती हुँदै आएको छ । सिगास गाउँपालिकामा मात्र नभई जिल्लाका सबैजसो स्थानमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भइरहेको छ । तीनदेखि चार महिनाको एकैपटक निकासा हुने भत्ता बुझ्न बैंकहरूमा भिड लाग्ने गरेको छ ।

समाजिक सुरक्षा भत्तालाई सहज बनाउनेबारे पालिकामा छलफलकै क्रममा रहेको सिगास गाउँपालिकाका पञ्जीकरण शाखाका फिल्ड सहायक खगेन्द्र धामीले बताए । वडामै बैंकका कर्मचारी बोलाएरै भए पनि भत्ता सहजरूपमा वितरण गर्नेबारे छलफल चलिरहेको उनले बताए । वडा–९ रहेको सिगास गाउँपालिका जिल्लाकै दुर्गम पालिका हो भने पूर्णरूपमा सडक सञ्जालसँग पनि जोडिएको छैन ।

प्रतिक्रिया