गायिका मेलिनासँग सहकार्य गर्दै नविनले ल्याए ‘मन परेरै हो’

काठमाडौं । लोकदोहोरी गायक नविन पौडेलले चर्चित गायिका मेलिना राईसँग सहकार्य गरेर फरक खालको गीत ल्याएका छन् । लामो समयदेखि देश र जनताप्रति मोह राख्दै भ्रष्टाचार र घुसखोरीविरुद्ध गीत ल्याइरहेका गायक पौडेलले पछिल्लो समय आफ्नो र गायिका राईको आवाजमा ‘मन परेरै हो’ बोलको गीत ल्याएका हुन् ।

केही दिनअघि युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गितमा गितकार दिग्गज धौरालीको शब्द रचना रहेको छ भने संगीत गायक पौडेल आफैंले भरेका छन् । त्यस्तै, गीतको भिडियोमा विवेक खड्काको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

उक्त भिडियोमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई, रचना दर्नाल, सोनी विक, नवराज मगर लगायत कलाकारहरुले अभिनय गरेका छन् । सो भिडियो गायक पौडेलले आफ्नै अफिसियल युटुव च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

गायिका मेलिना राई लोकदोहोरी भन्दा चलचित्र र आधुनीक गीतहरुमा बढी आवाज दिने गायिकामध्येमा पर्छिन् । तर, पछिल्लो समय भने अन्य विभिन्न प्याटनका गीतहरुमा पनि सहकार्य गरेको पाइन्छ । गायक पौडेलले केही फरकपनको गीतमा गायिका राईसँग सहकार्य गरेर फरक धारको गीत ल्याएको बताए ।

प्रतिक्रिया