सुदूरपश्चिम स्थानीय सरकारको नेतृत्वमा महिला र दलित नगण्य

धनगढी । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सुदूरपश्चिममा स्थानीय सरकारको नेतृत्वदायी भूमिकामा महिला र दलितको संख्या नगण्य छ । दुई महिला र एक जना दलित पुरुष मात्रै पालिकाको नेतृत्वमा पुगेका छन् । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटा स्थानीय तह रहेका छन् । निर्वाचन आयोगका अनुसार बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक ८७ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।

जसमा कांग्रेसले ४० वटा स्थानीय तहको प्रमुख÷अध्यक्ष, नेकपा एमालेले २५ पालिकाको प्रमुख/अध्यक्ष, नेकपा (माओवादी केन्द्र)ले १४ पालिकाको प्रमुख/अध्यक्ष जितेका छन भने नागरिक उन्मुक्ति पार्टीले चार पालिकाको प्रमुख/अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) ले दुई पालिकाको प्रमुख/अध्यक्ष र दुई पालिकामा स्वतन्त्र उम्मेदवारले प्रमुख/अध्यक्ष जितेका छन् । ८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा महिला र दलित नेतृत्वदायी भूमिकामा भने नगण्य संख्यामा छन् । यसअन्तर्गत दुई पालिका प्रमुखमा महिला र एक पालिका अध्यक्षमा मात्रै दलित नेतृत्वमा पुगेका छन् । अछामको एक र कैलालीको एक स्थानीय तहमा नेपाली कांग्रेसका दुई महिला उम्मेदवारले प्रमुखमा विजय हासिल गरेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी अम्बिका कुमारी चलाउनेले ३ हजार ६ सय ५३ मत ल्याएर विजयी भएकी हुन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १ सय ७२ मत प्राप्त गरे ।

त्यसैगरी कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही १२ हजार ७ सय १३ मत ल्याएर विजयी भएकी छन् । उनले निवर्तमान नगरप्रमुख समेत रहेका नेकपा एमालेका महादेब बजगार्इंलाई पराजित गरिन् । बजगाईंले १० हजार ४ सय ३५ मत प्राप्त गरेका थिए । शाही सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार हुन् ।

त्यसैगरी डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दलित समुदायका उम्मेदवारले अध्यक्षमा जित हासिल गरेका छन् । सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका शेरसिंह पार्की विजयी भएका हुन् । पार्कीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । पार्कीले २ हजार ३ सय ८९ र गुरुङले २ हजार २ सय २४ मत प्राप्त गरेका छन् । यीबाहेक कुनै पनि पालिकामा महिला र दलित नेतृत्वमा पुग्न सकेनन् ।

पहिलो कुरा त सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलबाट प्रमुख पदमा महिला र दलित उम्मेदवार नै न्यून थिए । त्यसैमा उम्मेदवार भएकाहरूले पनि जित हासिल गर्न सकेन् ।

टिकट पाएकाले पनि जितेनन्

प्रमुख राजनीतिक दलबाट प्रमुख/अध्यक्षको टिकट पाएका महिला र दलित उम्मेदवारले जित्न सकेनन् । नेकपा एमालेबाट अछामको साँफेबगर नगरपालिकोको प्रमुखको उम्मेदवार बनेकी पशुपति कुँवर नेपाली कांग्रेसका उम्मेदवार राजेन्दबहादुर कुँवरसँग पराजित भइन् । कांग्रेसका राजेन्द्र कुँवरले ७ हजार २ सय ६५ मत ल्याएर विजयी हुँदा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेर पराजित भइन् । त्यस्तै एमालेबाट बझाङको बुंगल नगरपालिकाको प्रमुखकी उम्मेदवार धनदेवी कुँवर नेपाली कांग्रेसका जयबहादुर धामीसँग पराजित भइन् । कांग्रेसका धामीले ७ हजार ६ सय १५ मत ल्याएर विजयी भए भने एमालेकी कुँवरले ३ हजार २ सय ७१ मत प्राप्त गरिन् । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा एमालेकी उम्मेदवार कुमारी कमला बोहराले पनि माओवादी केन्द्रका उम्मेदवार पोतीलाल चौधरीसँग पराजय भोग्नु प¥यो । माओवादी केन्द्रका उम्मेदवार चौधरीले ८ हजार ७ सय ८७ मत प्राप्त गरेर विजयी हुँदा एमालेकी बोहराले ६ हजार ८ सय ३ मत प्राप्त गरिन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भोजराज बोहरासँग एमालेकी उम्मेदवार सुशीला सिंह पराजित भइन् । बोहराले ८ हजार ७८ मत प्राप्त गरेर विजयी भए भने सिंहले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् । एमालेबाट कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षकी उम्मेदवार झुमादेवी चौधरी चौथो स्थानमा आइन् । सो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रामसमझ चौधरी १० हजार ४ सय ९२ मत प्राप्त गरेर विजयी हुँदा माओवादी केन्द्रका लाजुराम चौधरीले ६ हजार ४ सय ३०, राप्रपाका होमबहादुर गुरुङले ५ हजार २४ र एमालेकी उम्मेदवार झुमादेवी चौधरीले २ हजार ५ सय ३० मत प्राप्त गरिन् ।

त्यसैगरी माओवादी केन्द्रबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको प्रमुखकी उम्मेदवार निरुदेवी कामी पाँचाँै स्थानमा आइन् । सो नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार किशोरकुमार लिम्बुले ७ हजार १ सय ४ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १ सय ७२, स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले १ हजार ८ सय ५३, राप्रपाका भगिरथ भट्टले ८ सय ८३ र माओवादी केन्द्रकी निरुदेवी कामीले ७ सय ७६ मत प्राप्त गरिन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुखकी उम्मेदवार संगीताकुमारी भण्डारीले तेस्रो स्थान पाइन् । सो नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६ सय १९, कांग्रेस (बिपी) का उम्मेदवार हरिप्रसाद भट्टले ३ हजार ४ सय २६ र समाजवादीकी संगीता कुमारी भण्डारीले ७ सय ६७ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भए । स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गरी विजयी हुँदा वडले १४ हजार ८ सय १७ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा हमाल वडसँग पराजित भएका थिए । त्यसैगरी अछामको चौरपाटी गाउँपालिको अध्यक्षमा एमालेका उम्मेदवार राम आउजी कांग्रेसका भीमबहादुर साउँदसँग पराजित भए । कांग्रेसका साउँदले ३ हजार ९ सय ८२ मत प्राप्त गरी विजयी भए भने एमालेका आउजीले २ हजार ५ सय ६ मत प्राप्त गरे । त्यस्तै माओवादी केन्द्रबाट डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्षका उम्मेदवार धर्मदेव लुहार चौथो स्थानमा आए । कांग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थी २ हजार ८ सय ७९ मत प्राप्त गरी विजयी हुँदा एकीकृत समाजवादीका कविन्द्र बिष्टले २ हजार ६ सय ६, कांग्रेस (बिपी) का गोकुलबहादुर शाहीले १ हजार ३ सय ८५ र माओवादी केन्द्रका लुहारले ६ सय १५ मत प्राप्त गरे ।

तीन प्रमुख दल एक/एक जिल्लामा शून्य

सुदूरपश्चिममा रहेका तीन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक/एक जिल्लामा शून्य भएका छन् । दार्चुलामा कांग्रेस शून्य भएको छ । नौ पालिका रहेको सो जिल्लामा एमालेले पाँच र माओवादी केन्द्रले चार पालिका प्रमुख/अध्यक्ष जित्दा नेपाली कांग्रेसले एक पालिकामा पनि प्रमुख/अध्यक्ष जित्न सकेन । डडेल्धुरामा एमाले शून्य भएको छ । सात पालिका रहेको सो जिल्लामा कांग्रेसले पाँच र माओवादी केन्द्रले दुई पालिका प्रमुख/अध्यक्ष जितेको छ । त्यसैगरी बाजुरामा माओवादी केन्द्र शून्य भएको छ । नौ पालिका रहेको बाजुरामा आठ पालिकाको नतिजा सार्वजनिक हुँदा एमालेले पाँच र कांग्रेसले तीन पालिका प्रमुख/अध्यक्ष जितेको छ ।

प्रतिक्रिया