काठमाडौंको फोहोर व्यवस्थापन हुने, यस्ताे छ सहमतिपत्र

काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबार (आज) देखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।

सहरी विकास मन्त्रालयमा साेमबार दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो ।

आज (मंगलबार) ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको उपमेयर डंगोलले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।

शहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि महानगरपालिकाको प्रतिवद्धता छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया