केमिकल छरेर दुर्गन्ध हटाउने प्रयास

सडकमा फोहोरको समस्या उस्तै

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । सडकमा जताततै फोहोरको डंगुर देख्न सकिन्छ । त्यसमाथि क्षणमै वर्षा हुने र क्षणमै चर्को घाम लाग्ने मौसमका कारण सडकमा थुपारिएका फोहोरको दुर्गन्धले सार्वजनिक स्थलमा हिँडनसमेत असहज बन्दै गएको छ ।

महानगरपालिकामा आएको नयाँ नेतृत्वले फोहोर व्यवस्थापनका लागि प्रयास गरिरहेको छ । तर, हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । पछिल्लो समय उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ ।
काठमाडौंका विभिन्न स्थानका सडकमा थुपारिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्न थालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघर लगायतका क्षेत्रमा महानगरको ट्यांकरले केमिकल छर्किएको थियो ।

काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोलवासीले भने राज्यले आपूmहरूसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।
उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया