आकाश र पूजाको ‘सम्झना बिर्सना’ असार ३१ मा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तोक्दै सार्दै गरेको फिल्म युनिटले अब भने असार ३१ गतेलाई प्रदर्शन मिति लक गरेको छ ।

यसअघि यो चलचित्र जेठ ६ गते नै प्रदर्शन हुने प्रचार थियो। स्थानीय निर्वाचनको कारण देखाउँदै सरेको ‘सम्झना बिर्सना’ निकै प्रचार गरिएको चलचित्र हो ।

यो चलचित्रमा आकाश श्रेष्ठ र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। फिल्म तथा म्युजिक भिडिओमा निक्कै रुचाइएको पूजा र आकाशको जोडीसँगै यो चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा पनि शिर्ष भूमिकामा देखिनेछन् ।

निमेष प्रधानले निर्देशन गरेको चलचित्र दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । निर्देशक प्रधानकै कथा तथा पटकथा रहेको चलचित्रको संवाद लेखनमा निर्देशक प्रधानलाई अभिनेता शिशिर राणाले साथ दिएका छन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन रहनेछ ।

प्रतिक्रिया