काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र साहको संयोेजकत्वमा बसेको बैठकले महानगरमा हुने विकास निर्माणको कामका लागि सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्नुपर्ने निर्णय गरेको हो ।
बैठकले आगामी महिनाबाट प्रत्येक पहिलो सोमबार दिउँसो ३ बजे महानगरका प्रमुखको अध्यक्षतामा बैठक बसी कामपाभित्रका निर्माण तथा सेवा प्रवाहको बारेमा सम्बन्ध भएका निकायले जानकारी गराउनुपर्ने निर्णय गरेको जानकारी उपप्रमुख सुनिता डंगोलले दिइन् ।
बैठकमा उपप्रमुख डंगोल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग र मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले शनिबार भेटवार्ता गरेका छन् । ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा महानगर प्रमुख साहले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेका छन् ।
महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने क्रममा उनले शनिबार अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् । भेटका क्रममा प्रमुख साहले आफु स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापन लगायतका कामको थालनी भएको जानकारी पनि गराएका थिए ।
अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपटकको स्थानीय तह निर्वाचनमा पनि युवाहरू नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया