हेटौँडामा निःशुल्क अचार बनाउने तालिम

मकवानपुर । माईग्रेन्ट कृषि मार्ट मकवानपुरको आयोजनामा सञ्चालित पाँचदिने निःशुल्क अचार बनाउने तालिम सम्पन्न भएको छ । माईग्रेन्ट कृषि स्मार्ट मकवानपुरका अध्यक्ष सरोज पुडासैनीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपमयेर राजेश वानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

विदेशबाट फर्किएका युवाहरुद्वारा सञ्चालित माइग्रेन्ट कृषि मार्टले तालिमको समापन गर्दै उपमेयर बानियाँले सिकेको सिपलाई सहि ठाउँमा सदुपयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे । अब हरेक महिलाहरु व्यवसायिक बन्नुपर्ने भन्दै उनले गाउँघरमा उत्पादित वस्तुहरुको व्यवस्थापन गर्न पालिकाले सहयोग गर्ने बताए ।

त्यस्तै हेटौँडा—५ का वडाध्यक्ष शुसिल घिमिरेले अचार बनाउने तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने बाटो खुलेको बताए । उनले तालिमपश्चात व्यवसायिक बन्न सके महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने बताउँदै वडाको तर्फबाट सक्दो सहयोग गर्ने उद्घोष गरे ।

हेटौँडा उपमहानगरपालिकाका भरिका ४५ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण धनकुमार गुरुङले गरेका थिए । तालिम अवधिभर आफ्नै हातले अचार बनाउने अभ्यास गरिएकाले घरमा अब जुनसुकै प्रकारको पनि अचार बनाउन सक्ने भएको माईग्रेन्ट कृषि स्मार्ट मकवानपुरका सदस्य विपिन घिमिरेले बताए ।

घर वरपर सहजै पाईने लप्सी, काँक्रो, अमला, मुला, करेला, आँप, गाजरलगायतका खाद्य सामग्रीबाट बन्ने अचारका परिकारहरुबारे सिकाइएको प्रशिक्षक गुरुङले बताए ।

तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि तरकारीको कटान गर्ने तरिका, अचारको गुण गुम्न नदिन अपनाउने तरिकाका बारेमा सिकाई भएको तालिममा सहभागी महिलाहरुले बताएका छन् ।

विदेशबाट फर्किएका २५ जना युवाहरु मिलेर सञ्चालन गरेको माईग्रेन्ट कृषि स्मार्ट मकवानपुरले सहकारी सञ्चालन गरिसकेको छ भने कृषि बजार, बायोग्यास कार्यक्रम, फुड बैंक सञ्चालन लगायतको योजना अघि सारेको स्मार्टका अध्यक्ष सरोज पुडासैनीले बताए ।

उनले विदेशबाट फर्केका पुरुष तथा महिलाहरुलाई विभिन्न आयआर्जनमुलक तालिम प्रदान गर्ने लक्ष्यका साथ यस संस्था अगाडि बढेकोसमेत बताए । सो कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य बिरबहादुर विश्वकर्मा, वडा नम्बर ६ का वडा सदस्य लेखनाथ ढकाल, माइग्रेन्ट कृषि मार्टकी उपाध्यक्ष अंकिशा सुवेदी लगायतको सहभागीता रहेको थियो ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया