कुइँनेटो र ऐना उत्कृष्ट

काठमाडौं । १०औँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’ मा राष्ट्रियतर्फ माधवराज खरेलको चलचित्र ‘कुइँनेटो’ ले उत्कृष्ट चलचित्र र कृषा चौलागाईंको ‘ऐना’ ले उत्कृष्ट लघुचलचित्रको अवार्ड जितेका छन् । फेस्टिभलमा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको चलचित्र ‘घोस्ट अफ स्पेसटाइम’ ले उत्कृष्ट लघुचलचित्र र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको चलचित्र ‘आइ अफ द स्ट्रोम’ ले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेका छन् । राजधानीको जमलस्थित नाचघरमा तीन दिनसम्म चलेको महोत्सवमा ‘कुइँनेटो’ बाटै अभिनेता श्रीदेव भट्टराईले जुरी अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायांकारको अवार्ड प्राप्त गरेका छन् । यसैगरी, महोत्सवमा लघुचलचित्र ‘ऐना’ बाट कृषाले क्रिटिक्स तर्फको उत्कृष्ट निर्देशक अवार्ड र भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जित्न सफल भएका छन् ।

यस्तै, उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘राइज’ बाट ऋषिराज आचार्यले हासिल गरेका छन् । यसै चलचित्रबाट गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसीप्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाइलको अवार्ड हात पारे ।

महोत्सवमा उत्कृष्ट स्क्रिप्ट राइटिङ अवार्ड पुरुष्षोतम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सहअभिनेताको अवार्ड केडी प्रसितले चलचित्र ‘थर्ड आई’ बाट प्राप्त गरे । चलचित्र ‘द ब्लाक कर्नर’ बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शंका’ बाट सुमन दाहालले उत्कृष्ट ‘सोसियल म्यासेज फिल्म’ को अवार्ड पाएका छन् ।

यसैगरी, कार्यक्रममा चलचित्र ‘द डटर’ बाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशन अवार्ड, यसबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जित्न सफल भएका छन् । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्डसमेत प्राप्त गरेकी छन् । महोत्सवमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दासको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।

आइतबारबाट सुरु भएको तीन दिवसीय फेस्टिभल मंगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ । महोत्सवमा अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवं अग्रज ब्युटिसियन सोनी कारञ्जित, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय लगायतले बिजेतालाई अवार्ड प्रदान गरे ।

महोत्सवको निर्णायकमा संगीतकार जुगल डंगोल, अभिनेता प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी लगायत रहेका थिए । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिद्वारा आयोजित महोत्सवमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सवमा प्रदर्शन गरिएको
महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिए ।

उनले एक दशकमा नेपालमा यो महोत्सवले अफ्रिका र अफ्रिकी चलचित्रसँगै नेपाली चलचित्रलाई पनि दर्शकमाझ पु¥याउने काम गरेको सुनाए । क्षत्रीले नेपाल र अफ्रिकाबीचको संस्कृति आदनप्रदानका लागि विगत एक दशकदेखि आफूहरुले महोत्सवको आयोजना गर्दै आएको बताए । महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले चलचित्रमार्फत नेपाल र अफ्रिकाको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन महोत्सवको आयोजना गरेको बताइन् । उनले महोत्सव निकै उत्साहका साथ सम्पन्न भएको जनाउँदै चलचित्र संस्कृतिले नेपाल र अफ्रिकाबीचको सम्बन्धलाई नजिक ल्याउन मद्दत पुर्याउने विश्वास आफूले लिएको सुनाइन् ।

प्रतिक्रिया