वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न एनआरएनएको आग्रह

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको खुला गरिएको सो बचतपत्रमा लगानी गर्न अनुरोध गरेका हुन । आचार्यले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि ठूलो अवसर भएको बताउँदै सो बचतपत्रमार्फत लाभान्दित हुन् आग्रह गरे ।

उनले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेपछि विदेशमा रहेका नेपाली उत्साहित रहेको बताए । वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताले १२ दशमलब ५ प्रतिशत ब्याज पाउँछन । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो ।

बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा विशेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ ।

देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन् ।

अहिले लगानी गरेको पैसाँ असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ ।यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ ।

राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्ट भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै, त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न खुला गरेको छ । सरकारले गरेको उक्त निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

महासंघले बजेटको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त निर्णयको स्वागत गरेको हो । पुँजी बजारतर्फ धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्ने नीति राम्रो भएको महासंघको ठहर छ ।

प्रतिक्रिया