सम्झौता भएको दुई वर्षपछि शिलान्यास

स्याङ्जा । ०७७ सालमा सम्झौता भएको झलुंगे पुल दुई वर्षपछि शिलान्यास भएको छ । स्याङ्जाको दुई पालिका जोड्ने सिम्ले–सिरबानी–अँधेरीखोला झुलुंगे पुल संघीय सांसद तथा पूर्वमन्त्री पद्मा अर्यालले मंगलबार शिलान्यास गरिन् । वालिङ र भिरकोट नगरपालिका जोड्ने पुल कोरोनाको कारण देखाउँदै निर्माण व्यवसायीले ढिलासुस्ती गरेका थिए । पुलको शिलान्यास गर्दै पूर्वमन्त्री अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइन् । यो पुलले भिरकोट र वालिङ नगरभित्र आँधीखोलापारीका जनताको दैनिकीमा परिवर्तन ल्याउने बताउँदै अर्यालले भनिन्, ‘म मन्त्रालयमा हुँदा उक्त पुललाई प्राथामिकतामा राखेर दुईपटकसम्म सर्वे गराएर फाइनल गरेकी थिएँ । निर्माण कार्यमा ढिलासुस्ति भयो । अव समयमै यो पुल सम्पन्न हुनुपर्दछ ।’

यो पुलको निर्माण कार्य सम्पन्न हुँदा भिरकोट–९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ–१४ को सिम्ले, थाना, करादी, सिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त स्थानका विद्यार्थीहरूले दुई घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागि आउनुपर्ने बाध्यता थियो ।

पुल निर्माणका लागि बिएलटी कन्ट्रक्सन प्राइभेट लिमिटेडले ०७७ सालमा ७० लाखमा ठेक्का सम्झौता गरे पनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी सुरु गरेको हो । उक्त पुल यही मंसिरसम्म सम्पन्न गर्ने म्याद रहेको छ । पुल २ सय ५० मिटर लामो हुन सम्भौतामा उल्लेख छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया