बजार क्षेत्रबाट संकलित फोहोरमैला सिधै नदीमा बिर्सजन

धादिङ । स्थानीय तहको बेवास्ताका कारण पछिल्लो समय धादिङमा बजार क्षेत्रबाट संकलित फोहोरमैला सिधै राजमार्ग छेउबाट नदिमा बिर्सजन गर्ने गरिएको छ । फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधीले चासो नदिँदा र सरोकारवाला निकाय मौन बसिदिँदा पृथ्वीराजमार्ग आसपासको बजार र बस्ति क्षेत्रबाट संकलित फोहोरमैलालाई स्थानीयहरुले सिधै नदीमा फ्याँक्ने क्रम बढेको छ । बजारको फोहोर सिधै त्रिसुली नदीमा फ्याँकिदिदा नदी त फोहोर भएकै छ त्यसमाथी नदीकिनारमा थुप्रिएको फोहोले राजमार्ग क्षेत्रको वातावरणसमेत प्रदुषित हुँदै गएको छ । राजमार्ग क्षेत्रबाट फ्याँकिएको फोहोरको डङ्गुरबाट आउने दुर्गन्धले पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाईसमेत समस्या पार्ने गरेको छ ।

चितवनको ईच्छाकामना गाँउपालिकास्थीत् मुग्लीनदेखी मौवाखोलासम्म र धादिङको वेनिघाट रोराङदेखी धुनिबेसी सम्मका बजार आसपासको फोहोरमैला ट्रिपर र ट्रयाक्टर मार्फत् सिधै राजमार्ग छेउछाउबाट त्रिसुली नदी र आसपासका खोलाहरुमा फ्याँक्ने गरिएको छ । त्यस्तै मुग्लीनदेखी तनहुँको आँबुखैरेनी बजार, मलेखु – धादिङबेसी सडकका बजार तथा नुवाकोट जाने गल्छी – त्रिसुली सडक आसपासका बजारको फोहोरमैला पनि त्यसैगरी फ्याँक्ने गरिएको स्थानियहरुको गुनाशो छ ।

राजमार्ग छेउबाट सिधै तल भिरमा फालिने पोहोर सडकमा त रहन्छ नै तल फ्याँकिएको फोहोर सिधै नदीमा समेत पुग्छ । जसले गर्दा त्रिसुली नदीसमेत कुरुप बन्दै गएको छ । त्यस्तै फोहोरले राजमार्ग र नदीछेउको बगर किनारसमेत पुरै फोहोरको डंगुरले भरिने गरेको छ । उता सडकयात्राको क्रममा यात्रुहरुल समेते सहजै रुपमा देख्न सक्ने र गन्ध आउने गरी फोहोर फ्याँकिएको छ ।

राज्यले फोहोरमैला फाल्ने गर्ने डम्पिङ साईडको ब्यवस्थापन गर्न नसक्दा बिकल्पको रुपमा बजार र बस्तीहरुबाट दैनिक निस्कने फोहोरमैलालाई बजारबाट करिब दुई तीन किलोमिटर पर राजमार्ग छेउबाट नदीमा फाल्न बाध्य हुनुपरेकोे स्थानियहरुले बताँउने गरेका छन् । उता फोहोर फाल्ने नयाँ ठाउँको खोजी भईरहेको र फोहोरमैला व्यवस्थापनका लागी नयाँ बिकल्पहरुबारे योजना बनाईएको बेनिघाट रोराङ गाँउपालिकाका नवनिर्वाचित् अध्यक्ष कृष्णप्रसाद थपलिया विवेकले बताए । ‘बजारमा चाप बढ्दै गएपछि अहिले फोहोर ब्यवस्थापमा समस्या भएको छ, नयाँ विकल्पको रुपमा एउटा डम्पिङ साईटको लागी जग्गा खोजी गरेको छु , गाँउपालिकाको पाएक पर्ने स्थानमा डम्पिङ साईट निर्माण गरी फोहोर ब्यवस्थापनमा बिषेस ध्यान दिनेछु’ उनले भने ।

गाँउपालिका अध्यक्ष थपलियाका अनुसार आगामी कार्यपालिकाको बैठकबाटै डम्पिङ साईट निर्माण गरी फोहोर ब्यवस्थापन गरिने छ । त्यसका लागी आफुले एक वर्षभित्रै नतिजा निस्कनेगरी योजना बनाउने उनले बताएका छन् । डम्पिङ साईटको ब्यवस्थापन नहुँदा राजमार्ग क्षेत्रको बजार सफा भएपनि बजारसँगैको त्रिसुली नदीभने फोहोर बन्दै गएको छ । स्थानियहरुले आफ्नो घर, पसल र ब्यापारीक केन्दबाट निस्किने फोहोर अन्यत्र बाहिरी बतावरणमा फ्याँकने र उक्त फोहोर बजारदेखी केहि टाढा फ्याँकिदिँदा राजमार्ग क्षेत्र निकै प्रदुषित बनेको छ । राजमार्ग छेउका बजारमा दैनिक थुप्रने फोहोर बजार क्षेत्र नजिकै फालिँदा रोगको जोखिमसमेत बढेको छ ।

प्रतिक्रिया